नयाँदिल्ली । पूर्वी भारतको एससीबी अस्पतालको आइसियुमा आगलागी हुँदा ट्रामा केयर युनिटमा भर्ना भई उपचाररत कम्तीमा १० जना बिरामीको मृत्यु भएको जनाइएको छ ।

ओडिसा राज्यको कटक सहरको एससीबी मेडिकल कलेजमा सोमबार आगलागी भएको मुख्यमन्त्री मोहन चरण माझीले बताए । बिरामीहरूको उपचार भइरहेको ट्रामा आईसीयू वार्डमा विद्युतसर्किटका सर्ट भएका कारण आगलागी भएको उनको भनाइ छ ।

घटनाको समयमा २३ जना विरामी उपचाररत रहेको पुष्टि गर्दै उनले आगलागीपछि १० जनाको मृत्यु भएको र बाँकी बिरामीलाई अन्य वार्डमा सारिएको जनाए । बिरामीहरूलाई बचाउने प्रयास गर्दा कम्तीमा ११ जना कर्मचारीहरू जलेर घाइते भएको जनाइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत पीडित परिवारप्रति समवेदना प्रकट गर्दै पीडित परिवारका लागि क्षतिपूर्तिको घोषणा गरेका छन् ।

यसअघि सन् २०२४ मा तमिलनाडुको एक निजी अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको थियो । दुई दर्जनभन्दा बढी घाइते भएका थिए । सोही वर्ष उत्तर प्रदेशको एक अस्पतालमा आगलागी हुँदा दशजना नवजात शिशुको मृत्यु भएको थियो ।