काठमाडौं । काठमाडौं उपत्यकामा आगामी मंसिर १ गतेदेखि मासु पसल, पशु वधस्थल तथा वधशाला सञ्चालनमा कडाइ गरिने भएको छ।

सरकारले उपभोक्तालाई स्वच्छ र स्वस्थ मासु उपलब्ध गराउने उद्देश्यले ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ पूर्णरूपमा कार्यान्वयन गर्न लागेको हो।

ADVERTISEMENT

यसैक्रममा जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाभित्र सञ्चालित सबै मासु पसल तथा वधशालालाई कानुनी मापदण्ड पूरा गरी सञ्चालन अनुमति लिन निर्देशन दिएको छ।

ADVERTISEMENT

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा ऐन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रशासनले यस्तो कदम चालेको हो।

प्रशासनले मासु व्यवसाय तथा वधशाला सञ्चालन गरिरहेका सबै व्यवसायीलाई सम्बन्धित निकायबाट अनिवार्य अनुमति लिन र कानुनले तोकेका मापदण्ड पूरा गरेर मात्रै व्यवसाय सञ्चालन गर्न सूचित गरेको छ।

मंसिर १ गतेपछि अनुमतिविना वा तोकिएको मापदण्डविपरीत सञ्चालन हुने व्यवसायमाथि कानुनी कारबाही गरिने प्रशासनले जनाएको छ।

नयाँ नियम तथा मापदण्डबारे थप जानकारी लिन पशु सेवा कार्यालय लगनखेलमा सम्पर्क गर्न सकिनेछ।