काठमाडौँ। भक्तपुर निर्वाचन क्षेत्र नं १ मा मतदाताले चुनावी समयमा मात्रै मत माग्न आउने उम्मेदवारलाई मतदान नगर्ने चेतावनी दिएका छन्। चाँगुनारायण नगरपालिका–१ की १९ वर्षीया मोनिका रोक्का पहिलो पटक मतदान गर्दै आफूले दुःख–सुखमा सहयोग गर्ने र क्षेत्रको विकासमा ध्यान दिने उम्मेदवारलाई मात्र भोट दिने बताएकी छन्।

भक्तपुरका नागरिकहरू भौतिक पूर्वाधार, स्वच्छ खानेपानी, सडक र ऐतिहासिक-सांस्कृतिक सम्पदाको संरक्षणमा अझै चुनौती रहेको अनुभव गर्दै मतदातामाझ निरन्तर सक्रिय जनप्रतिनिधि चाहिएको धारणा राखेका छन्। यसै क्रममा मतदाताले समस्या परेमा सहयोग गर्ने र चुनावको बाहेक अरुबेला पनि उपस्थित हुने उम्मेदवारलाई प्राथमिकता दिने बताएका छन्।

आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यस क्षेत्रमा १६ राजनीतिक दल र नौ स्वतन्त्र उम्मेदवार गरी कुल २५ उम्मेदवार प्रतिस्पर्धा गर्दै छन्। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवालले चौथो पटक उम्मेदवार दिनुभएको छ भने नेकपा (एमाले) बाट सोमप्रसाद मिश्र, नेपाली कांग्रेसबाट किरण न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रूकेश रञ्जित, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भरतबहादुर खड्का र राष्ट्रिय जनमोर्चाबाट ईश्वरीप्रसाद पैयानीले चुनावी मैदानमा छन्।

गत निर्वाचनमा नेमकिपाका प्रेम सुवालले ४२ हजार ७६१ मत प्राप्त गर्दै विजयी हुनुभएको थियो। यसपटक विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारले नेमकिपालाई चुनौती दिँदै क्षेत्रको विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र पूर्वाधार निर्माणमा ध्यान दिने मुख्य एजेण्डा प्रस्तुत गरेका छन्।

भक्तपुर–१ निर्वाचन क्षेत्रमा कूल एक लाख सात हजार ५४ मतदाता रहेका छन्। यसमध्ये पुरुष मतदाता ५२ हजार ६६ (४८.६४%), महिला ५४ हजार ९८८ (५१.३६%) र समावेशी हिसाबले खस, आर्य ६८%, आदिवासी/जनजाति २८% तथा मधेसी ४% रहेका छन्। यस क्षेत्रमा ११९ मतदान केन्द्र, सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी सुरक्षा व्यवस्थासहित निर्वाचन तयारी पूरा गरिएको छ।