झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन बीचमै स्थगित हुन सक्ने संकेत गरेका छन्। झापाको भद्रपुरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “यो चुनाव स्थगित हुन पनि सक्छ, तर हामी चुनावको तयारीमै छौँ।”
क्षेत्र नम्बर ३ को प्रचार समितिले आयोजना गरेको कार्यक्रममा उनले निर्वाचनका लागि राज्यको ठूलो खर्च भइसकेको र सुरक्षा निकाय परिचालन भइसकेको उल्लेख गर्दै अब चुनाव हुनैपर्ने धारणा राखे। “देशको खर्च नहुनुपर्थ्यो, भइसक्यो। निर्वाचन प्रहरी खटाइसक्यो, त्यसैले निर्वाचन हुनुपर्छ,” उनले भने।
दाङसहित विभिन्न स्थानमा पार्टीका झन्डा जलाएको घटनाप्रति टिप्पणी गर्दै ओलीले आस्थाको प्रतीकको अपमान गर्नु अपराध भएको बताए। हार्ने भएपछि रास्वपाले झन्डामा आगजनी गरी चुनाव भाँड्ने षड्यन्त्र गरेको आरोप उनले लगाए।
झापा–५ का प्रतिस्पर्धी बालेन्द्र शाहप्रति लक्षित गर्दै ओलीले कटाक्ष गरे, “एउटा पालिका चलाउन नसक्नेलाई प्रधानमन्त्री बनाउने रे! के यो देश प्रयोगशाला हो?” उनले यो निर्वाचन देश बनाउने र जलाउने शक्तिबीचको लडाइँ भएको दोहोर्याए।

देशको सार्वभौमिकता र स्वाधीनता संकटमा परेको दाबी गर्दै उनले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि एमाले कसैको कठपुतली नबन्ने बताए। आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारका पालामा स्वास्थ्य, शिक्षा, रोजगारी तथा विकास निर्माणमा भएका कामहरूको फेहरिस्त प्रस्तुत गरे।
यसैबीच, काठमाडौंबाट शनिबार झापा फर्किएका ओली दमकमा आयोजित शिक्षकहरूको भेलामा पनि सहभागी भए। सो अवसरमा उनले सार्वभौमिकताको रक्षक बनेकै कारण आफूविरुद्ध चौतर्फी घेराबन्दी गरिएको गुनासो गरे।






