काठमाडौँ । यस वर्षको तिहारमा काठमाडौँ उपत्यकामा झण्डै ५२ लाख फूलका माला खपत हुने अनुमान गरिएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार तिहारमा सयपत्रीका ४५ लाख, मखमलीका ६ लाख, गोदावरीका २० हजार र मिश्रित फूलका ६० हजार माला खपत हुने अनुमान छ।
एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस वर्ष तिहारमा स्वदेशी उत्पादनकै फूल र मालाले बजारको माग धान्ने दाबी गरेका छन्।
यसैबीच, एसोसिएसनले भोलिदेखि कात्तिक १६ गतेसम्म ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्ने भएको छ। प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको संयोजक सुमन महर्जनले जानकारी दिएका छन्।
प्रदर्शनीमा व्यावसायिक फूल उत्पादकका ७८ वटा कक्ष रहनेछन्।








