नवलपुर। प्रधानमन्त्री सुशीला कार्कीले यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ३१ अर्ब रुपैयाँ खर्च हुने अनुमान रहेको जानकारी दिइन् ।

राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन नवलपुर पुगेकी उनले पत्रकारसँगको संवादमा चुनाव फागुन २१ गते नै सम्पन्न गराउने सरकारको दृढता दोहोर्याइन् । निर्वाचन सर्ने हल्लाबारे राखिएको प्रश्नमा उनले भनिन्, “चुनाव सर्दैन, किन सार्ने र ? करिब ३१/३२ अर्ब खर्च भइरहेको छ, आवश्यक भौतिक साधन र अभाव पूरा गर्दै । विभिन्न देशबाट सहयोग भइरहेको छ, जसले यो स्थिति सहज बनाएको छ।”

प्रधानमन्त्री कार्कीले निर्वाचन प्रक्रिया जसरी पनि सम्पन्न हुने र नयाँ जनप्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गरिने स्पष्ट पारेकी छन् ।

उनले थपिन्, “कहीँ कतै अवरोध आएमा दोस्रो चरणमा भए पनि निर्वाचन सम्पन्न गराइनेछ । हिमाली जिल्लामा चिसो र भौतिक चुनौतीका कारण सवारी साधन प्रयोग कठिन हुने ठाउँमा पनि मतदाता ओसारेर मतदान सुनिश्चित गरिने छ ।”

प्रधानमन्त्री कार्कीले सरकार शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न सतर्क र गम्भीर रहेको दोहोर्याइन् ।