काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको निष्कर्ष निकालेको छ ।

परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले निर्वाचन सुरक्षाको अवस्थाबारे समीक्षा गर्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकिएको जनाएको हो ।

रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माका अनुसार बैठकले मुलुकमा शान्ति–सुरक्षा र अमनचयन कायम राख्न सम्बन्धित सुरक्षा निकायलाई अझ प्रभावकारी र समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय गरेको छ ।

बैठकमा राष्ट्रिय सुरक्षाका विविध चुनौती, राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय घटनाक्रमले पार्न सक्ने प्रभाव र भावी रणनीतिबारे पनि छलफल भएको जनाइएको छ ।

बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, मुख्यसचिव सुमनराज अर्याल तथा प्रधानसेनापति अशोकराज सिग्देल सहभागी थिए ।