काठमाडौं । नेपाली कांग्रेसले बुधबार जनकपुरको तिरहुतियागाछीमा मधेश प्रदेशस्तरीय बृहत् चुनावी सभा आयोजना गर्ने भएको छ । सभामा कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले तयार पारेको प्रतिज्ञापत्र सार्वजनिक गर्ने छ ।

चुनावी सभालाई कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मासहित चर्चित नेताहरुले सम्बनेधन गर्ने भएका छन् । मंगलबार पत्रकार सम्मेलन गरी मधेश प्रदेश समितिले एक लाखभन्दा बढी समर्थक उतार्ने दाबी गरेको छ ।

कांग्रेस मधेस प्रदेश सभापति एवं मुख्यमन्त्री कृष्णप्रसाद यादवले सभामा प्रदेशका आठ जिल्लाका लाख बढी नेता कार्यकर्ताको सहभागिता हुने जानकारी दिए । सभापति थापासहितका केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गर्ने सभा कांग्रेसको पहिलो चुनावीसभासमेत हो ।

‘हामीले प्रदेशका आठ जिल्लाका जिल्लाका संगठनात्मक संरचना सक्रिय पारेर कम्तीमा एक लाख जनसहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेका छौँ,’ यादवले भने, ‘यो सभा मधेसमा कांग्रेसको शक्ति प्रदर्शन मात्र होइन, आगामी निर्वाचनको आधार तयार गर्ने ऐतिहासिक कार्यक्रम हुनेछ ।’

मुख्यमन्त्री यादवले सभामा सार्वजनिक गर्ने प्रतिज्ञापत्रमा मधेशको विकास, रोजगारी, कृषि आधुनिकीकरण, शिक्षा–स्वास्थ्य सुधार, पूर्वाधार विस्तार तथा सुशासनका एजेन्डा प्राथमिकतामा रहने जानकारी दिए । कांग्रेसले फागुन ३ गते पार्टी कार्यालय सानेपामा प्रतिज्ञापत्र सार्वजनिक गर्ने तयारी गरे पनि अन्तिममा स्थगित गरिएको थियो । कांग्रेसले आइतबार नै प्रतिज्ञापत्र निर्वाचन आयोगमा बुझाइसकेको छ ।