काठमाडौं । नेपाली कांग्रेसले संसद् विघटनलाई असंवैधानिक ठहर गरेको छ। शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले यस वषयमा अन्य राजनीतिक दलहरूसँग संवाद गर्ने निर्णय गरेको छ।
उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बैठक बसेको हो । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गर्दै यस विषयमा अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको जानकारी दिए । कांग्रेसले दसैँअघि नै केन्द्रीय समिति बैठक बोलाउने निर्णयसमेत गरेको छ ।
कांग्रेसमा पुनःसंरचनाको आवाज उठ्दै आए पनि तत्काल कसैलाई पनि कार्यवाहक सभापतिको जिम्मेवारी नदिइने भएको छ । ‘आजको बैठकले अहिले कसैलाई कार्यवाहक सभापति नदिने र विशेष महाधिवेशन नबोलाउने निर्णय आजको बैठक गरेको छ,’ उनले भने। सभापति शेरबहादुर देउवा स्वस्थ भएर फर्किएपछि मात्रै कार्यवाहकबारे निर्णय हुने छ ।
जेनजी आन्दोलनकारीको आक्रमणमा बुढानीलण्ठस्थित देउवाको घर पूर्णरुपमा जलेको छ । देउवा र उनकी श्रीमती आरजु राणा देउवा घाइते छन्। ‘घटनाको छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउनको लागि उच्च स्तरीय न्यायिक छानबिन आयोग गठनको माग गर्दछौँ,’ विश्वकर्माले भने ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भदौ २३ र २४ गतेको घटना छानबिन गर्न अलग अलग न्यायिक आयोग गठन गर्नुपर्ने माग गरेका छन् ।





