काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई ज्यूँदो मानिसहरूको संस्था रहेको र यहाँ कुनै ‘बा’ नभएको बताएका छन्। आइतबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा बोल्दै उनले कांग्रेसमा कसैले नबोल भन्नाले बोल्न छोड्नुपर्ने कोही नभएको स्पष्ट पारे।
थापाले भने, “कांग्रेस दास र लासको पार्टी होइन। कांग्रेस ज्यूँदो मानिसहरूको पार्टी हो। यहाँ सबै बराबर छन्। कुनै ‘बा’ नभएकोले कसैले नबोल भन्नाले कोही पनि दबिँदैन। जुन पार्टीमा प्रश्न मर्छ, त्यो समाजमा पनि प्रश्न गर्न सक्दैन। तपाईंहरूको प्रयासले कांग्रेस ज्यूँदो राखेको छ।”
महामन्त्री थापाले पार्टीभित्रको संघर्ष सत्ताको नभई मूल्य र मान्यताको भएको बताए। उनले विशेष महाधिवेशन सदस्यहरूको मागअनुसार आयोजना भएको र यसले नीति र नेतृत्व परिवर्तनको बाटो खोल्ने स्पष्ट पारे।
थापाले भदौ २३ र २४ को आन्दोलनलाई केवल जेन–जी आन्दोलन नभई देशभरका नागरिकको असन्तोषको परिणाम भएको व्याख्या गरे। उनले भने, “नेपालका लाखौं नागरिकले सडकमा आएर आक्रोश पोखेका हुन्। सरकारमा हामी थियौं, संसद्मा हामी थियौं। जनता व्यक्तिगत रूपमा रिसाएका होइनन्, उनीहरू भ्रष्टाचार, कुशासन र नेपोबेबीको शासन देखेर रिसाएका हुन्।”
उनले महाधिवेशनलाई पार्टीभित्र उठेका प्रश्न बुझ्ने र सम्बोधन गर्ने एउटा प्रयासका रूपमा प्रस्तुत गर्दै भने, “हाम्रो अगाडिका प्रश्नहरूलाई अनदेखा नगर्ने, बुझ्ने र सम्बोधन गर्ने काम विशेष महाधिवेशनले गर्ने छ। यही प्रक्रिया कांग्रेसलाई सक्रिय र जिम्मेवार बनाउने मार्ग हो।”








