काभ्रेपलाञ्चोक । गृह मन्त्रालयले वडा तहबाट लागू गरेको अनलाइन नागरिकता सिफारिस सेवा काभ्रेपलाञ्चोक जिल्लामा प्रभावकारी बन्दै गएको छ । गत भदौ १ गतेदेखि सुरु गरिएको उक्त सेवामार्फत जिल्लाका सबै १३५ वडाबाट अनलाइन सिफारिस कार्यान्वयनमा आएको छ । पाँच महिनाको अवधिमा चार हजार १७७ जनाले नागरिकता प्राप्त गरेका छन् ।
नागरिकताका लागि वडाले आवश्यक कागजात अनलाइनमार्फत स्क्यान गरी जिल्ला प्रशासन कार्यालयमा सिफारिस पठाउने व्यवस्था गरिएको छ । सेवाग्राहीले वडाबाट प्रिन्ट गरिएको सिफारिस र आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालय पुग्नेबित्तिकै द्रुत गतिमा सेवा पाउने गरेका छन् ।
वडाबाट अपलोड गरिएको फाइल कोडका आधारमा विवरण प्रविष्ट गरेपछि वडाबाटै भरिएको विवरणअनुसार नागरिकता प्रिन्ट हुने व्यवस्था छ । सनाखतकर्ताको पूर्ण विवरणसमेत अनलाइनमै सुरक्षित हुने गरेको छ । जिल्ला प्रशासन कार्यालयले ती कागजातलाई पुनः स्क्यान गरी अलग अभिलेख बनाउने र डिजिटलाइजेसनपछि सुरक्षित रूपमा भण्डारण गर्ने गरेको जनाएको छ ।
अनलाइन सिफारिस प्रणाली लागू भएपछि एउटै काम विभिन्न निकायमा पटक–पटक गर्नुपर्ने बाध्यता हटेको छ । यसले विवरणमा एकरूपता ल्याउनुका साथै सेवाग्राहीलाई झन्झटबाट मुक्त गरेको छ । झुटा विवरण पेस गरी नागरिकता लिन खोज्नेलाई भने यो प्रणालीले थप कडाइ गरेको कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राजु शर्माका अनुसार अनलाइन प्रणालीले विवरण सुरक्षित राख्नुका साथै त्रुटि कम भएको अभिलेख तयार भएको छ । “कागजात सुरक्षित भएका छन्, समयको बचत भएको छ र सेवामा विश्वास बढेको छ,” उनले भने ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नागरिकतालगायत सेवामा नागरिकलाई झन्झटरहित बनाउने उद्देश्यले अनलाइन प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गरिएको बताए । उनले कागजात अपुग भएका कारण नागरिकता नबन्ने समस्या समेत क्रमशः समाधान हुँदै गएको उल्लेख गरे ।
पाँचखाल नगरपालिका–६ का वडाध्यक्ष रामशरण दुलालले अनलाइन नागरिकता सिफारिस सेवा स्थानीय तहका लागि अत्यन्तै महत्त्वपूर्ण भएको बताए ।
यसैबीच, चालु आर्थिक वर्षको पुस मसान्तसम्म छ महिनाको अवधिमा जिल्लामा चार हजार ३६१ जनाले नयाँ नागरिकता लिएका छन् । यस अवधिमा सबैभन्दा बढी नागरिकता सिफारिस धुलिखेल नगरपालिकाबाट र सबैभन्दा कम खानीखोला गाउँपालिकाबाट भएको छ । इलाका प्रशासन कार्यालय महाभारतबाट ३५५ वटा नागरिकता जारी हुँदा अनलाइन सेवामार्फत ३२३ नागरिकता बनेका छन् ।
नयाँ नागरिकताभन्दा प्रतिलिपि लिनेको संख्या बढी रहेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार यस अवधिमा पाँच हजार ४९२ जनाले प्रतिलिपि नागरिकता लिएका छन् । साथै २५ जनाले नागरिकता परित्याग गरेका छन् भने १८ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका र चार जनाको नागरिकता रद्द गरिएको छ ।







