काठमाडौं । पर्वतारोहण क्षेत्रमा सक्रिय विश्वका ४५ देशका प्रतिनिधि अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघ (यूआईएए) को साधारणसभामा सहभागी हुन नेपाल आएका छन्। पाँच महादेशका प्रतिनिधिहरूको सहभागितामा बिहीबार साँझ काठमाडौंमा महासंघको साधारणसभा उद्घाटन गरिएको हो।
नेपाल पर्वतारोहण संघ (एनएमए) को आतिथ्यमा आयोजना भइरहेको साधारणसभाका अवसरमा नेपालले आठ हजार मिटरभन्दा अग्ला थप छवटा चुचुरालाई छुट्टाछुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिन प्रस्ताव गरेको छ। नेपालको प्रस्ताव स्वीकार भए विश्वमा मान्यता प्राप्त आठहजारी हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ। त्यस्तै, नेपालमा रहेका आठहजारी हिमालको संख्या आठबाट १४ पुग्नेछ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले साधारणसभाका क्रममा ती छवटा चुचुराको भौगोलिक, वैज्ञानिक तथा पर्वतारोहणसम्बन्धी आधारमा औपचारिक मूल्यांकन गरी छुट्टाछुट्टै हिमालको मान्यता दिन आग्रह गर्नुभएको हो।
नेपालमा यसअघि सन् १९८२ र २०११ मा यूआईएएको साधारणसभा आयोजना भएको थियो। यस वर्षको आयोजना नेपालमा हुन लागेको महासंघको तेस्रो साधारणसभा हो।
साधारणसभाको उद्घाटन बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले गर्नुभएको थियो। कार्यक्रममा यूआईएका अध्यक्ष पिटर मुइरले नेपालमा पछिल्लो समय भएका प्राकृतिक विपद्ले जलवायु परिवर्तनको गम्भीरता पुनः स्मरण गराएको बताउनुभयो।
उहाँले पर्वतीय समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै पर्वतारोहणसम्बन्धी गतिविधिमा युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो।
एनएमएको आतिथ्यमा शुक्रबार साँझ काठमाडौंको ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा सहभागी प्रतिनिधिका लागि ‘हेरिटेज वाक अराउन्ड’ कार्यक्रमसमेत आयोजना गरिएको छ।

थप छ चुचुरालाई आठहजारीको मान्यता दिन प्रस्ताव
नेपालले अन्तर्राष्ट्रिय मान्यता प्राप्त आठहजारी हिमालको सूचीमा थप छवटा चुचुरालाई समावेश गर्न प्रस्ताव गरेको छ। हाल विश्वमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाललाई छुट्टाछुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ। तीमध्ये आठवटा नेपालमा वा नेपालको सीमामा अवस्थित छन्।
हाल मान्यता प्राप्त आठहजारी हिमालमा सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, चो ओयु, धौलागिरि प्रथम, मनास्लु र अन्नपूर्ण प्रथम रहेका छन्।नेपालले थप मान्यता माग गरेका छवटा चुचुरा कञ्चनजंघा र सगरमाथा–ल्होत्से हिमशृंखलामा अवस्थित छन्।
कञ्चनजंघा हिमशृंखलाका कञ्चनजंघा साउथ, कञ्चनजंघा वेस्ट, कञ्चनजंघा सेन्ट्रल र यालुङ खाङलाई छुट्टाछुट्टै हिमालका रूपमा मान्यता दिन प्रस्ताव गरिएको छ। त्यसैगरी सगरमाथा–ल्होत्से हिमशृंखलाका ल्होत्से मिडल र ल्होत्से शारलाई पनि छुट्टै आठहजारी हिमालको मान्यता दिन नेपालले आग्रह गरेको छ।
नेपाल सरकारले यी चुचुराहरूमा यसअघि नै आरोहण अनुमति दिँदै आएको छ। विभिन्न आरोहीले ती चुचुराको सफल आरोहण गरी प्रमाणपत्रसमेत प्राप्त गरिसकेका छन्। तर, अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा भने ती चुचुराले छुट्टाछुट्टै आठहजारी हिमालको मान्यता पाएका छैनन्।
एनएमएका अध्यक्ष शेर्पाका अनुसार प्रस्तावित छवटै चुचुराको आफ्नै नाम, भौगोलिक पहिचान र शिखरसम्म पुग्ने अलग आरोहण मार्ग रहेको छ। स्थानीय समुदायले समेत ती चुचुरालाई फरक पहिचानका हिमाली शिखरका रूपमा चिन्ने गरेका छन्।
आठ हजार मिटरभन्दा माथिका हिमाल आरोहण गर्न असाधारण शारीरिक क्षमता, प्राविधिक दक्षता, अनुभव र सावधानीपूर्वक तयारी आवश्यक पर्ने उहाँको भनाइ छ।
एउटै हिमशृंखलामा रहेका भए पनि छुट्टै भौगोलिक पहिचान र आरोहण मार्ग भएका प्रत्येक शिखरको आरोहणलाई महत्त्वपूर्ण पर्वतारोहण उपलब्धिका रूपमा मूल्यांकन गर्नुपर्ने उहाँले बताउनुभयो।
शेर्पाका अनुसार एनएमएका पूर्वअध्यक्ष तथा पूर्वकार्यसमिति सदस्यहरूले पनि लामो समयदेखि यो विषय उठाउँदै आएका थिए। तर, अपेक्षित रूपमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुन सकेको छैन।
यसपटक भने विषयलाई प्राविधिक र वैज्ञानिक आधारसहित अघि बढाउन विज्ञ टोली गठन गरिएको उहाँले जानकारी दिनुभयो।
मधुसूदन अधिकारीको नेतृत्वमा गठन गरिएको पाँच सदस्यीय टोलीले प्रस्तावित चुचुराहरूलाई छुट्टाछुट्टै आठहजारी हिमालको मान्यता दिनुपर्ने आधारसहित विस्तृत प्रस्तुति तयार पार्नेछ।
कुनै चुचुरालाई छुट्टै हिमालका रूपमा मान्यता दिने विषयमा अन्तर्राष्ट्रिय सहमति आवश्यक हुने भएकाले नेपालले वैज्ञानिक तथा प्राविधिक आधारलाई प्राथमिकता दिनुपर्ने शेर्पाको भनाइ छ।
उहाँले हिमालको उचाइ मात्र नभई भौगोलिक बनावट, छुट्टै शिखरको पहिचान, प्राकृतिक संरचना र आरोहण मार्गजस्ता आधारलाई समेटेर वर्गीकरणको स्पष्ट वैज्ञानिक पद्धति विकास गर्नुपर्ने बताउनुभयो।
नेपाल विश्वकै प्रमुख पर्वतारोहण गन्तव्य भएकाले हिमालको पहिचान र वर्गीकरणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड विकासमा नेतृत्व लिनुपर्ने उहाँको धारणा छ।
साधारणसभाअघि अक्टोबर २७ र २८ मा काठमाडौंमा तेस्रो यूआईएए पर्वतीय सुरक्षा गोष्ठीसमेत आयोजना गरिएको थियो।गोष्ठीमा विभिन्न देशका ६० भन्दा बढी पर्वतारोही, चिकित्सक, उद्धारकर्ता, प्यारामेडिक्स, बीमा प्रतिनिधि तथा पर्वतीय सुरक्षासम्बन्धी विज्ञ सहभागी भएका थिए।
गोष्ठीमा पर्वतारोहणका क्रममा हुन सक्ने जोखिम, आपत्कालीन उद्धार, स्वास्थ्य सुरक्षा तथा पर्वतीय क्षेत्रमा अपनाउनुपर्ने सावधानीबारे छलफल गरिएको थियो।सहभागीहरूले नुवाकोटको ककनीस्थित स्काउट परिसरमा व्यावहारिक उद्धार अभ्यास तथा प्रशिक्षणसमेत लिएका थिए।
नेपालमा अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघको साधारणसभा आयोजना हुनु र आठहजारी हिमालको संख्या बढाउन प्रस्ताव अघि सारिनुले नेपालको पर्वतारोहण क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप छलफलको केन्द्रमा ल्याएको छ। नेपालको प्रस्तावमाथि हुने प्राविधिक मूल्यांकन र अन्तर्राष्ट्रिय सहमतिले आगामी दिनमा विश्वका आठहजारी हिमालको आधिकारिक सूचीमा परिवर्तन ल्याउन सक्नेछ।








