काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले काभ्रेपलाञ्चोकस्थित प्रसिद्ध धार्मिकस्थल पलाञ्चोक भगवती मन्दिरको दर्शन गरेका छन्।
प्रधानमन्त्री शाह बुधबार बिहान आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै मन्दिर पुगेका हुन्।
पलाञ्चोक भगवतीको नित्य पूजाका समयमा मन्दिर पुगेका प्रधानमन्त्री शाहले भगवतीको दर्शन गरेर फर्किएको पाँचखाल नगरपालिका–९ का वडाध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए।
प्रधानमन्त्री शाहको भ्रमणबारे जिल्लास्थित सुरक्षा निकायलाई समेत पूर्वजानकारी नगराइएको बताइएको छ। स्रोतका अनुसार प्रधानमन्त्रीसँगै रहेका सुरक्षाकर्मी पनि सादा पोसाकमा थिए।
नवरात्र सुरु भएसँगै पलाञ्चोक भगवती मन्दिरमा भक्तजनको चहलपहल बढ्ने गरेको छ। नेपालका प्रसिद्ध शक्तिपीठमध्ये एक मानिने यस मन्दिरमा विशेषगरी नवरात्रका अवसरमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गर्छ।
मन्दिरमा प्रत्येक वर्ष नवरात्रको अष्टमीका दिन राष्ट्रप्रमुखले दर्शन गर्ने परम्परा रहँदै आएको छ।









