काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो प्रभाव देखाएका छन्। प्रतियोगिताको सुरुआतदेखि नै ब्याटिङ र बलिङ दुवैतर्फ नेपाली खेलाडीले वर्चस्व कायम गरेका छन्।
कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा हालसम्म छ खेल सम्पन्न भएका छन्। उल्लेखनीय कुरा के छ भने सम्पन्न छवटै खेलमा नेपाली खेलाडी ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन्। एनपीएल इतिहासमा लगातार छ खेलसम्म नेपाली खेलाडीले उक्त अवार्ड जितेको यो पहिलो रेकर्ड भएको छ।
प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी लायन्सका स्पिनर शेर मल्ल उत्कृष्ट खेलाडी घोषित भए। दोस्रो खेलमा चितवन राइनोजका कमलसिंह ऐरी, तेस्रो खेलमा कर्णाली याक्सका युनिसविक्रम ठकुरीले ‘प्लेयर अफ द म्याच’ अवार्ड जिते।
त्यसैगरी चौथो खेलमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, पाँचौँ खेलमा जनकपुर बोल्ट्सका राहुल यादव र छैटौँ खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामी उत्कृष्ट खेलाडी घोषित भए।
बिहीबार सम्पन्न दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किङ्सलाई चार विकेटले पराजित गर्दा कप्तान सोमपाल कामीले अलराउन्ड प्रदर्शन गरे। उनले अविजित ६२ रन बनाउनुका साथै बलिङमा चार विकेट लिए। उनको यही प्रदर्शनले कर्णालीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो।
बिहीबार नै सम्पन्न पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई आठ विकेटले पराजित गर्यो। जनकपुरका १७ वर्षीय बलर राहुल यादवले काठमाडौंको ब्याटिङ लाइनअप ध्वस्त पार्दै चार विकेट लिए। उत्कृष्ट बलिङ गरेका उनी खेलको उत्कृष्ट खेलाडी घोषित भए।
बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई छ विकेटले हराएको थियो। उक्त खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाउनुका साथै एक विकेट लिएका थिए। अलराउन्ड प्रदर्शन गरेका उनी ‘प्लेयर अफ द म्याच’ बने।
मंगलबार सम्पन्न दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको थियो। कर्णालीका युनिसविक्रम ठकुरीले तीन विकेट लिँदै टोलीको जितमा महत्त्वपूर्ण योगदान गरे।मंगलबार नै भएको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई आठ रनले पराजित गर्दा कमलसिंह ऐरीले चार विकेट लिएका थिए। उनी खेलको उत्कृष्ट खेलाडी घोषित भए।
त्यस्तै, सोमबार भएको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दा लुम्बिनीका स्पिनर शेर मल्लले तीन विकेट लिएका थिए। उत्कृष्ट बलिङ प्रदर्शन गरेका उनी प्रतियोगिताको पहिलो ‘प्लेयर अफ द म्याच’ बनेका थिए।
अर्धशतकमा पनि नेपाली खेलाडी अगाडि
जारी एनपीएलमा ब्याटिङतर्फ पनि नेपाली खेलाडीले उल्लेखनीय प्रदर्शन गरेका छन्। हालसम्म प्रतियोगितामा पाँच अर्धशतक प्रहार भएका छन्। तीमध्ये तीन अर्धशतक नेपाली खेलाडीले बनाएका छन् भने दुई अर्धशतक विदेशी खेलाडीको नाममा छन्।नेपाली खेलाडीमध्ये कर्णाली याक्सका कप्तान सोमपाल कामी, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी र विराटनगर किङ्सका ओपनर लोकेश बमले अर्धशतक प्रहार गरेका छन्।
विदेशी खेलाडीमध्ये जनकपुर बोल्ट्सका मोइन अली र चितवन राइनोजका डेभिड मलानले अर्धशतक बनाएका छन्।यसले प्रतियोगितामा नेपाली खेलाडीले बलिङमा मात्र नभई ब्याटिङमा पनि विदेशी खेलाडीसँग प्रतिस्पर्धात्मक प्रदर्शन गरिरहेको देखाएको छ।
बलिङ र ब्याटिङको शीर्ष पाँचमा नेपाली खेलाडीको उपस्थिति
प्रतियोगिताको व्यक्तिगत प्रदर्शनतर्फ बलिङ र ब्याटिङ दुवै विधामा नेपाली खेलाडीले शीर्ष स्थानमा आफ्नो उपस्थिति जनाएका छन्।बलिङतर्फ जनकपुर बोल्ट्सका युवा बलर राहुल यादव शीर्ष स्थानमा छन्। उनले दुई खेलमा ६ विकेट लिएका छन्। समान दुई खेलबाट पाँच–पाँच विकेट लिएका कर्णाली याक्सका कप्तान सोमपाल कामी दोस्रो र सुदूरपश्चिम रोयल्सका अनिल खरेल तेस्रो स्थानमा छन्।
त्यस्तै, दुई खेलबाट चार विकेट लिएका जनकपुरका विदेशी खेलाडी हर्मीत चौथो स्थानमा छन्। एक खेलबाट चार विकेट लिएका लुम्बिनीका नेपाली बलर किशोर महतो पाँचौँ स्थानमा छन्।ब्याटिङतर्फ विराटनगर किङ्सका लोकेश बम शीर्ष स्थानमा छन्। उनले दुई खेलबाट एक अर्धशतकसहित ११३ रन बनाएका छन्। प्रतियोगिताको व्यक्तिगत उच्च स्कोरसमेत उनकै नाममा रहेको छ। उनले कर्णाली याक्सविरुद्ध ८७ रन बनाएका थिए।
दोस्रो स्थानमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी छन्। उनले दुई खेलबाट एक अर्धशतकसहित ७८ रन बनाएका छन्।
त्यस्तै, तेस्रो स्थानमा जनकपुर बोल्ट्सका मोइन अली छन्। उनले एक खेलमा अर्धशतकसहित ७७ रन बनाएका छन्। चौथो स्थानमा रहेका कर्णालीका अरिफुल इस्लामले दुई खेलबाट ७५ रन जोडेका छन्।पाँचौँ स्थानमा रहेका कर्णालीका नेपाली ब्याटर पवन सराफले दुई खेलबाट ७३ रन बनाएका छन्।
नेपाली खेलाडीको प्रदर्शनप्रति क्यान अध्यक्ष सन्तुष्ट
विश्व क्रिकेटका चर्चित खेलाडीसमेत सहभागी प्रतियोगितामा नेपाली खेलाडीले देखाएको प्रदर्शनको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले प्रशंसा गरेका छन्।
उनले एनपीएल नेपाली क्रिकेटको व्यावसायिक विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको उल्लेख गर्दै प्रतियोगितामा नेपाली खेलाडीले देखाएको प्रदर्शन प्रशंसनीय रहेको बताएका छन्।
‘विश्वका चर्चित खेलाडीसमेत सहभागी एनपीएलमा नेपाली खेलाडीले गरेको प्रदर्शन निकै प्रशंसनीय छ। हामीले नेपाली क्रिकेटको व्यावसायिक विकास र खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरेका हौँ, जुन नेपाली खेलाडीले देखाइरहेका छन्,’ उनले भने। एनपीएलमा अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँगै खेल्ने अवसरले नेपाली खेलाडीको क्षमता प्रदर्शन तथा अनुभव अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उच्च स्कोर कर्णालीको, न्यून स्कोर सुदूरपश्चिमको
जारी प्रतियोगितामा टोलीगत प्रदर्शनतर्फ कर्णाली याक्सले सर्वाधिक रन बनाउने टोलीको कीर्तिमान कायम गरेको छ। कर्णालीले एक खेलमा १८७ रन बनाएको छ।त्यसको विपरीत सुदूरपश्चिम रोयल्स सबैभन्दा कम रनमा समेटिएको टोली बनेको छ। सुदूरपश्चिमको एक खेलमा ८७ रनमै सीमित भएको थियो।
प्रतियोगितामा अहिलेसम्मको उच्च साझेदारी जनकपुर बोल्ट्सका शैफ हसन र मोइन अलीबीच भएको छ। उनीहरूले काठमाडौं गोर्खाजविरुद्ध तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए।नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको तेस्रो संस्करणको एनपीएलको फाइनल खेल आगामी मङ्सिर ५ गते हुनेछ।
प्रतियोगिताको सुरुआती खेलहरूमा नेपाली खेलाडीले देखाएको प्रदर्शनले घरेलु क्रिकेटमा उनीहरूको क्षमता, प्रतिस्पर्धात्मकता र खेल जिताउने भूमिकालाई उजागर गरेको छ। अब प्रतियोगिता अघि बढ्दै जाँदा नेपाली खेलाडीले आफ्नो लय कायम राख्छन् वा विदेशी खेलाडीले चुनौती थप्छन् भन्ने चासो क्रिकेटप्रेमीमा बढेको छ।








