काभ्रेपलाञ्चोक। दिउँसो परेको वर्षासँगै रोशी खोलामा आएको ठूलो बाढीका कारण बीपी राजमार्गमा पुनः जोखिम बढेपछि आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटारसम्मको सडकखण्ड दिउँसो ३:३० बजेदेखि बन्द गरिएको हो। सम्भावित दुर्घटना रोक्न तत्काल सवारी आवागमन रोकिएको सुरक्षा निकायले जनाएको छ।

रोशी खोलाको पानीको बहाव अत्यधिक बढेपछि यसअघि बनाइएका अस्थायी डाइभर्सनसमेत बगाउने जोखिम देखिएपछि सडक बन्द गरिएको प्रहरी नायव उपरीक्षक रविन विष्टले जानकारी दिए। उनले अर्को सूचना नआएसम्म उक्त खण्डमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

सडक अवरुद्ध भएपछि बीपी राजमार्ग प्रयोग गर्ने सवारीसाधनलाई धुलिखेलको काभ्रेभन्ज्याङ र सिन्धुलीको नेपालथोक क्षेत्रमा ‘होल्ड’ गरिएको छ।

गत वर्षको बाढीपहिरोले रोशी र नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएको थियो। त्यसपछि अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन हुँदै आएकोमा चैतमा पुनः ४ किलोमिटर सडक क्षतिग्रस्त भएपछि पुनर्निर्माण गरिएको थियो।

हाल सो क्षेत्रमा स्थायी सडक निर्माण कार्य भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।