काठमाडौँ, १२ वैशाखः मौसममा आएको बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा लमजुङ, रोल्पा, प्यूठान र काभ्रेपलाञ्चोकमा उल्लेखनीय वर्षा भएको हो।
विभागको विवरणअनुसार लमजुङमा ८७.४ मिलिमिटर (धेरै भारी नजिक) वर्षा मापन भएको छ। त्यस्तै रोल्पामा ६५.२ मिलिमिटर, प्यूठानमा ७४.६ मिलिमिटर र काभ्रेपलाञ्चोकमा ६३.६ मिलिमिटर वर्षा (भारी वर्षा) रेकर्ड गरिएको छ।
यसैगरी कास्कीमा ३३ मिलिमिटर, गुल्मीमा ३७ मिलिमिटर र धनकुटामा ३७ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।
मौसमविद् विनु महर्जनका अनुसार आजदेखि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेकाले केही दिनदेखि देखिएको तातो लहर क्रमशः कम हुँदै जानेछ। उहाँका अनुसार वर्षाको क्रम आगामी दिनहरूमा अझै बढ्न सक्ने अनुमान गरिएको छ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायुमण्डलीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले जनाएको छ। भोलि आइतबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहने सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। साथै लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिनको अवस्था कायम रहने सम्भावना रहेको विभागले आज साँझ जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ।







