काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले आइतबार सुनुवाइ गर्ने भएको छ। विशेषका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र डिल्लीरत्न पौडेलको इजलासमा मुद्दाको पेसी तोकिएको छ।
पतञ्जली योगपीठको हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषदबाट बिक्री गर्न दिएर अनियमितता गरेको भन्दै गत २२ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट जग्गा बिक्री गर्न स्वीकृति दिने निर्णय भएको थियो।
यसअघि पटकपटक मुद्दाको सुनुवाइ भए पनि टुंगो लाग्न सकेको छैन । जसकारण माधव नेपाल खुलेर चुनावमा मतदातासमक्ष पुग्न सकेका छैनन् । एक दिन रौतहट पुगेका नेपाल भोलिपल्टै अस्पताल भर्ना भएका थिए । चुनावको चटारोमा स्वास्थ्यमा खराबी र अदालतमा भ्रष्टाचारको मुद्दाको सुनुवाइले माधव नेपाल तनावमा परेका छन् ।








