काठमाडौं । पतञ्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पहिलोपटक विशेष अदालतमा उपस्थित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि नेपाल पहिलोपटक अदालत उपस्थित भएका हुन्।

विशेष अदालतका न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको बयान जारी छ। बयान सकिएपछि आजै थुनछेक बहस सुरू हुनेछ। बयानका लागि नेपाल आफ्ना पक्षका कानुन व्यवसायी लिएर अदालत पुगेका थिए। अख्तियारले यस प्रकरणमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार विगो माग गरिएको छ।

ADVERTISEMENT

२०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालयको नाममा सञ्चालन गर्न काभ्रेमा हदबन्दी छुटमा ८१५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो। तर, पछि हदबन्दीभन्दा बढी कानुनविपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी परेपछि अख्तियारले यसबारे अनुसन्धान अघि बढाएको थियो।

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले गैरकानुनी तवरबाट प्राप्त गरेको हदभन्दा बढी जग्गा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ११ बमोजिम जफत तथा सरकारी सार्वजनिक कायम हुने जग्गा बेचविखन तथा सट्टापट्टासम्बन्धी प्रस्ताव नेपाल नेतृत्वको मन्त्रिपरिषद्मा ठाडो प्रस्तावको रुपमा पेस गरे गराएको देखिएको अख्तियारको दावी छ। आज बयान नसके नेपाललाई न्यायिक हिरासतमा पठाइने भएको छ ।

ADVERTISEMENT