काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ। दुवै पार्टीले एकता प्रक्रियालाई अघि बढाउन १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

कात्तिक १७ गते भएको सहमतिअनुसार एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहनेछ भने चुनाव चिह्न पाँचकुने तारा राखिनेछ।

ADVERTISEMENT

सहमतिपत्रमा पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुने उल्लेख छ। नेपाली विशेषताको वैज्ञानिक समाजवादलाई नेपाली क्रान्तिको कार्यक्रमका रूपमा अघि बढाउने पनि सहमति भएको छ।

ADVERTISEMENT

एकीकृत पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र रूपान्तरणलाई तत्कालीन कार्यनीतिको आधार बनाउनेछ।

पार्टीको आन्दोलन मूलतः शान्तिपूर्ण हुने सहमतिपत्रमा उल्लेख छ। तर परिस्थितिअनुसार सडक, संसद् र सरकारलगायत सबै मोर्चा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

एकतापछि पार्टीको सङ्गठनात्मक संरचना सहमतिका आधारमा समायोजन गरिनेछ। केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्य संयोजन समिति तथा अन्य केन्द्रीय निकायमा सहमतिअनुसार जिम्मेवारी बाँडफाँट गरिनेछ। पार्टीका सबै तहका समिति र जनसङ्गठनमा पनि सोही प्रक्रियाबाट समायोजन हुनेछ।

आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पार्टीको एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने सहमति भएको छ। पार्टीका समिति सञ्चालन गर्दा विधि, पद्धति र जनवादी केन्द्रीयताको सिद्धान्त अवलम्बन गरिने उल्लेख छ।

सिद्धान्त, विचार तथा एकता प्रक्रियाका क्रममा देखिन सक्ने मतभेद र विगतका विषयमा निरन्तर छलफल तथा समीक्षा गर्ने र अन्तिम निर्णय राष्ट्रिय महाधिवेशनबाट गर्ने सहमतिपत्रमा उल्लेख छ।

सहमतिपत्रमा नेपाली कम्युनिस्ट पार्टीका महासचिव उर्मा भुजेल, सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्।