काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुराना दल र नेताहरूले देशमा केही गरेनन् भन्ने भाष्यलाई तथ्य र प्रमाणका आधारमा चिर्नुपर्ने बताएका छन् ।
पार्टीको राष्ट्रिय जागरण अभियान उद्घाटन गर्दै शनिबार नेता नेपालले २०४७ सालदेखि वामपन्थी तथा कम्युनिस्ट नेतृत्वका सरकारले देश र जनताको पक्षमा गरेका कामहरूको विस्तृत विवरण सार्वजनिक गर्ने घोषणा गरेका हुन् ।
उनले पछिल्लो समय राजनीतिलाई व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यमका रूपमा व्याख्या गर्ने र गलत कुराहरू प्रचार गर्ने प्रवृत्ति बढेको बताए । शहीद तथा योद्धाहरूले व्यक्तिगत स्वार्थका लागि नभई देशको प्रतिष्ठा उकास्न, जनताका पीडा सम्बोधन गर्न र विभेदमुक्त समाज निर्माण गर्न जीवन समर्पण गरेको उनले स्मरण गरे ।
पुराना पार्टी र नेताहरूले केही गरेनन् भन्ने आरोपको मूल्याङ्कन भावनात्मक टिप्पणीका आधारमा नभई तथ्य र प्रमाणबाट हुनुपर्ने नेपालको भनाइ छ ।
‘एउटा भाष्य के छ भने, यी पुराना पार्टीहरूले केही पनि गरेनन्, यी पुराना नेताहरूले केही पनि गरेनन्, देशमा केही पनि भएन । त्यो भाष्य कति सही हो, कति गलत हो—यो मनोगत ढङ्गले आरोप लगाएर हुँदैन, तथ्यगत रूपमा पुष्टि गर्नुपर्ने हुन्छ,’ उनले भने ।
नेपालले सङ्घ, प्रदेश र स्थानीय तहसम्म पार्टीका नेता तथा कार्यकर्ताले जिम्मेवारी सम्हालेर गरेका कामहरूको विवरण छिट्टै सार्वजनिक गरिने बताए । उनका अनुसार २०४७ सालदेखि कम्युनिस्टहरूले विभिन्न जिम्मेवारीमा रहेर गरेका कामको विवरण सार्वजनिक भएपछि त्यसबारे तथ्यका आधारमा बहस गर्न सहज हुनेछ ।
उनले काम गर्ने क्रममा भएका कमी–कमजोरीको समीक्षा गर्नुपर्ने स्वीकार गर्दै राम्रा कामको प्रशंसा नगर्ने र अपजस मात्रै थोपर्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए ।
नेपालले राष्ट्रिय हित र देशको स्वाभिमानमा आँच पुर्याउने कुनै पनि कार्य पार्टीलाई स्वीकार्य नहुने स्पष्ट पारे । राष्ट्रियतालाई सर्वोच्च प्राथमिकतामा राख्दै जनतामा चेतना र जागरण फैलाउने उद्देश्यले राष्ट्रिय जागरण अभियान सुरु गरिएको उनले बताए ।
नेपाली कम्युनिस्ट पार्टीले सञ्चालन गरेको अभियानमार्फत पुराना राजनीतिक दलहरूले गरेका कामबारे जनतालाई जानकारी गराउने, राष्ट्रियताका विषयमा जनचेतना फैलाउने र पार्टीप्रति उठेका प्रश्नको तथ्यगत जवाफ दिने लक्ष्य राखिएको छ ।










