काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालत पुगेको छ। सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिजालसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रतिवादी बनाएर मंगलबार आरोपपत्र दायर गरेको हो।
तत्कालीन प्रधानमन्त्री नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ सालमा कम्पनीको नाममा सुनसरी र मोरङमा रहेको ५९ बिघा ९ कट्ठा जग्गा सट्टापट्टा गर्न अनुमति दिएको थियो। इटहरीबाट विराटनगर जाने मूल सडकसँग जोडिएको जग्गा बिक्री गरी दुर्गम स्थानमा जग्गा सट्टापट्टा गरिएको आरोपमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
उक्त निर्णयमा मन्त्रिपरिषद्को सामाजिक समिति पनि जिम्मेवार देखिएको भन्दै तत्कालीन समितिमा रहेका रिजाललाई समेत प्रतिवादी बनाइएको अख्तियार स्रोतले जनाएको छ। यस प्रकरणमा मालपोत कार्यालयका कर्मचारीलाई पनि प्रतिवादी बनाइएको छ।
विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले अख्तियारबाट पूर्वप्रधानमन्त्री नेपालसहितका प्रतिवादीविरुद्धको आरोपपत्र प्राप्त भएको पुष्टि गरेकी छन्। उनका अनुसार अहिले आरोपपत्र रुजु गर्ने काम भइरहेको छ।









