काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि प्रतिबद्ध रहेको बताएका छन् । आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, वरिष्ठ अधिवक्ताहरुसँग सोमबार छलफल गर्दै उनले पार्टीलाई फुटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिए ।
कोइरालाले आफू विष पिएरै भए पनि पार्टीभित्रको एकता कायम गरिछाड्ने अन्तिम प्रयासमा जुटिरहेको बताए । ‘म पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरुसँग पार्टी कुनै पनि हालतमा फुट्न दिनु हुन्न भनेर कुरा गरिहेको छु,’ उनले भने, ‘तपाईहरु ढुक्क हुनुस, पार्टी फुटदैन । तपाईहरु पनि त्यसैमा लाग्नुस। निरास हुने कामै छैन ।’
छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरु बलबहादुर केसी, मिनेन्द्र रिजाल, वरिष्ठ अधिवक्ताहरु( शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपानेलगायतको सहभागिता थियो ।
छलफलमा कानुन व्यवसायीहरुले कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र भएको जिकिर गरेका थिए । अहिले महामन्त्रीहरुले बोलाएको विशेष महाधिवेशन वैध पनि नभएको र नेतृत्व परिवर्तन गर्न नमिल्ने उनीहरूको तर्क थियो ।
छलफलमा सबै नेता तथा कार्यकर्ताहरुले पार्टीलाई फूटबाट जोगाउन शेखर कोइरालाले दुबै पक्षसँग सहजीकरण गरी पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेको थिए ।







