काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। कांग्रेस केन्द्रीय समितिको बैठक चलिरहेका बेला बैठकअघि दुई नेताबीच भेट भएको हो।

कांग्रेसभित्र संस्थापन र संस्थापनइतर पक्षबीच बेमेल बढिरहेका बेला पार्टीभित्रको विवाद अन्त्य गर्दै एकताको वातावरण बनाउन दुई नेताबीच संवाद भएको बताइएको छ।

ADVERTISEMENT

भेटमा नेता कोइरालाले पार्टीभित्र देखिएको बेमेलको अवस्था अन्त्य गर्न सभापति थापालाई आग्रह गरेका थिए। जवाफमा सभापति थापाले आफूहरू पनि एकताबद्ध कांग्रेसकै पक्षमा रहेको बताएका छन्।

ADVERTISEMENT

सानेपामा जारी केन्द्रीय समिति बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी, नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक तथा वितरण, महाधिवेशन तयारी समिति गठन र विधान मस्यौदा समिति लगायतका विषयमा छलफल भइरहेको छ।

यता, संस्थापनइतर पक्षले अदालतमा पार्टीको वैधानिकता र नेतृत्वसम्बन्धी मुद्दा विचाराधीन रहेको भन्दै महाधिवेशनसम्बन्धी प्रक्रिया अघि नबढाउन संस्थापन पक्षलाई आग्रह गर्दै आएको छ।

ADVERTISEMENT

इतरपक्षले भदौ २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्ने तयारीसमेत गरेको छ। सर्वोच्च अदालतले कांग्रेसको वैधानिकता तथा नेतृत्व विवादसम्बन्धी मुद्दा पुनरावलोकन गर्न अनुमति दिएपछि इतरपक्षले आफ्नो दबाब थप बढाएको हो।

यसैबीच पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किने र इतर समूहले आयोजना गर्ने राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको छ।

महाधिवेशनको तयारी, अदालतमा विचाराधीन विवाद र दुई पक्षबीच बढ्दो दूरीका बीच गगन–शेखर भेटलाई कांग्रेसभित्रको एकताको प्रयासका रूपमा हेरिएको छ।