काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचनअघि नै १५औं महाधिवेशन गर्नुपर्न धारणा राखेका छन् । आफूनिकट केन्द्रीय सदस्यहरू, काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरू र पूर्वजिल्ला सभापतिहरूसँग शुक्रबार विशालनगरमा रहेको सम्पर्क कार्यालयमा कुराकानी गर्दै उनले आफ्नो विचार राखेका हुन् ।

नेता कोइराला अहिलेसम्म महाधिवेशनबारे प्रायः मौन रहँदै आएका थिए । विशेष महाधिवेशन र नियमित महाधिवेशनबारे औपचारिक निर्णय सार्वजनिक गरेका थिएनन् । जसले गर्दा कांग्रेसमा अलमल रहँदै आएको छ ।

ADVERTISEMENT

महामन्त्री गगन थापाले चुनावअघि पुस १६ देखि १९ गतेसम्म १५औं महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका छन् । यस विषयमा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पक्ष विपक्षमा मत व्यक्त भइरहेको छ । सभापति शेरबहादुर देउवा पक्ष वैशाखमा महाधिवेशन गर्नुपर्ने भन्दै भाँजो हाल्न उद्यत छ ।

रूपन्देही सभापति रामकृष्ण खाणका अनुसार पार्टीको सबै तहको अधिवेशन पुस मसान्तभित्र सकिने गरी कांग्रेस केन्द्रीय समितिले कार्यतालिका ल्याउनुपर्नेमा नेता कोइरालाले जोड दिएका छन्। ‘उहाँ पनि पुसभित्रै सबै तहको अधिवेशन गर्ने गरी केन्द्रीय समितिबाट कार्यतालिका आउनुपर्छ भन्नेमा हुनु हुँदो रहेछ, हामी पनि सातै तहको अधिवेशन पुस मसान्तभित्र हुनुपर्छ भन्नेमा छौं,’ उनले भने।

ADVERTISEMENT

छलफलमा केन्द्रीय सदस्यहरू गोविन्दराज पोखरेल, टेकप्रसाद गुरूङ, मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू, नुवाकोट सभापति रमेश महत, खोटाङ सभापति विष्णु राई र चितवन सभापति राजेश्वर खनाललगायत सहभागी थिए ।

केन्द्रीय समितिले महाधिवेशन कार्यतालिका जारी गर्न नसक्दा नियमित महाधिवेशन पक्षधर, विशेष महाधिवेशन पक्षधर र नेताहरूको अगुवाइमा अनौपचारिक छलफलहरू भइरहेका छन्।