काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको वर्तमान संरचनामा आफू र अर्का महामन्त्री गगनकुमार थापा नेतृत्वको ‘ड्राइभिङ सिट’ नजिक रहेको भन्दै अबको जिम्मेवारी लिन दुवै महामन्त्री अघि बढ्ने बताएका छन्।
आइतबारदेखि भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले पार्टीको दिशानिर्देशन र नेतृत्वको जिम्मेवारीबाट महामन्त्रीहरू पन्छिन नसक्ने स्पष्ट पारे। “पार्टीको ड्राइभिङ सिटमा नजिकै रहेको नाताले पार्टीका महामन्त्री दुवै जानेछौँ। त्यसको जिम्मेवारी हामी पनि लिन्छौँ,” उनले भने।
उनले देश र पार्टी दुवै नयाँ परिस्थितिमा प्रवेश गरिसकेको उल्लेख गर्दै पुरानो सोच, शैली र मनोवृत्तिले अबको चुनौती सामना गर्न नसकिने बताए। “नयाँ परिस्थितिलाई सामना गर्न नयाँ परिस्थिति निर्माण गर्नुपर्छ। पुरानो राखेर हुँदैन, मनस्थिति बदल्नुपर्छ, सोच बदल्नुपर्छ,” शर्माले जोड दिए।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि विशेष महाधिवेशन सुरु भएको हो। महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया निरन्तर चलिरहेको छ। आइतबार बिहान ९ बजेदेखि आठवटा स्टलमार्फत नाम दर्ता सुरु गरिएको छ।
कांग्रेसले कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि एक स्टल, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका लागि एक स्टल, उपत्यकाभित्रका काठमाडौँ, भक्तपुर र ललितपुरका लागि एक स्टल तथा बाँकी पाँच प्रदेशका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गरेको जनाएको छ। कांग्रेसमा देशभर चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन्।
विशेष महाधिवेशनको उद्घाटनअघि सहभागीहरूले काठमाडौँका विभिन्न छ स्थानबाट जुलुस निकालेका थिए। विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय थापा र शर्माले भृकुटीमण्डपमै गरेका हुन्। महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपको सभाहलमा सञ्चालन हुने जनाइएको छ।






