काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । महाधिवेशनमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदनमाथि छलफल जारी रहेकाले निर्धारित समयभन्दा लामो समय लाग्ने भएको हो ।
पार्टी स्रोतका अनुसार प्रतिवेदनमाथि केन्द्रीय सदस्य तथा प्रतिनिधिहरूले आ–आफ्ना धारणा राख्ने क्रम अझै जारी छ । छलफल सकिएपछि मात्रै नेतृत्व चयनसम्बन्धी प्रक्रिया औपचारिक रूपमा अगाडि बढाइनेछ ।
महामन्त्रीद्वयको प्रतिवेदनमा पार्टीको वर्तमान राजनीतिक अवस्था, संगठनात्मक सुधार, आन्तरिक लोकतन्त्र, नेतृत्वको भूमिका तथा आगामी रणनीतिसम्बन्धी विषय समेटिएको छ । ती विषयमा विभिन्न धारणा आएका कारण छलफल लम्बिएको नेताहरूको भनाइ छ ।
पार्टी नेतृत्वले विशेष महाधिवेशनलाई सहमति र संवादमार्फत निष्कर्षमा पुर्याउने तयारी गरेको जनाएको छ । महाधिवेशनबाट पार्टीको भावी दिशा र नेतृत्व चयनको आधार तय हुने भएकाले छलफललाई गम्भीरतापूर्वक लिइएको छ ।
महाधिवेशन मंगलबारसम्म सञ्चालन हुने र त्यसपछि मात्रै नेतृत्व चयन प्रक्रियाबारे स्पष्ट कार्यतालिका सार्वजनिक गरिने नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले जनाएको छ ।








