काठमाडौं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भोलि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। विशेष महाधिवेशन आयोजक समितिले पार्टीका करिब ६० प्रतिशत महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा रहेको दाबी गरेको छ।
आयोजक समितिका अनुसार विशेष महाधिवेशनको माग गर्दै यसअघि असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका थिए। पछिल्लो समय विभिन्न जिल्लाबाट थप प्रतिनिधिहरू खुलेसँगै समर्थन संख्या बढ्दै गएको दाबी गरिएको छ।
शनिबार भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी विधान प्रभावकारी रूपमा कार्यान्वयन गर्न विशेष महाधिवेशन आवश्यक रहेको बताए। उनका अनुसार तनहुँ, झापा, धनुषा, रूपन्देही, मनाङलगायत जिल्लाबाट थप महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा आएका छन्। अहिले पनि हस्ताक्षर र समर्थन खुल्ने क्रम जारी रहेको उनको भनाइ छ।
सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका अधिकांश नेताहरूले विशेष महाधिवेशनको विरोध गरिरहेका बेला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा महाधिवेशन हुन लागेको हो। विशेष महाधिवेशन पुस २७ र २८ गते दुई दिन चल्ने कार्यक्रम तय गरिएको छ।
आयोजक समितिका अनुसार आज बिहान विभिन्न क्षेत्रबाट निस्कने र्याली भोलि हुनेछ र भृकुटीमण्डप पुगेर विशेष महाधिवेशनमा परिणत हुनेछ। दिउँसो १ बजे महाधिवेशनको औपचारिक उद्घाटन गर्ने तयारी छ। सभापति देउवालाई प्रमुख अतिथिका रूपमा निम्तो गरिए पनि उनी सहभागी हुने सम्भावना न्यून देखिएको छ।
यसैबीच, महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन्। सभापति देउवासँग लामो समय सहकार्य गरेका पूर्वउपसभापति गोपालमान श्रेष्ठसमेत विशेष महाधिवेशनको पक्षमा खुलेपछि कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र नेतृत्व विवाद संगै विशेष महाधिवेशन पक्षमा देखिएको हो।