काठमाडौँ । नेपाली कांग्रेस महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिले नाम दर्ता गर्ने क्रम सोमबार बिहानैदेखि सुरु भएको छ ।

आइतबारदेखि सुरु भएको महाधिवेशनमा आइतबार मात्र दुई हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएका थिए ।

ADVERTISEMENT

आइतबार कोशी प्रदेशबाट ४२५, मधेस प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४, सदूरपश्चिम प्रदेशबाट १४८, उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर) बाट १७८ र भ्रातृ, शुभेच्छुक एवं जनसम्पर्क समितिबाट १९५ जनाले नाम दर्ता गराएका थिए ।

कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहले नाम दर्ता गराउनका लागि भिन्दाभिन्दै आठ स्टलको व्यवस्था गरेको थियो । विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले बिहान ८ः३० बजेदेखि नाम दर्ता सुरु गरिएको जानकारी दिए । उनले हिजो दर्ता गर्न छुटेका प्रतिनिधिको सहजताका लागि आज नाम दर्तालाई निरन्तरता दिएको बताए । नाम दर्ता बिहान ११ बजेसम्म सञ्चालन हुने संयोजक पाण्डेयले बताए ।

ADVERTISEMENT

कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आज बन्दसत्र हुनेछ । बिहान ८ बजेदेखि बन्दसत्र गर्ने कार्यक्रम रहे पनि प्राविधिक कारण बन्दसत्र कार्यक्रम केही समयलाई लम्बिएको आयोजकले जनाएको छ ।

महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहने छ त्यस लगतै भृकुटीमण्डपस्थित हलमा बन्दसत्र शरू हुनेछ । आज बन्द सत्रको सुरुमा विषेश महाधिवेशनको कार्याविधि बनाउने तालिका रहेको छ। त्यसपछि नौ ओटा समूह निर्माण गरेर चार ओटा विषयमाथि नीति मन्थन हुनेछ।

चार विषयहरुमध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत् छलफल हुने पोखरेलले जानकारी दिए ।

नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने या नगर्ने भन्नेबारे बृहत छलफल हुनेछ । यदि नेतृन्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया बढाइने पोखरेलले बताए ।