काठमाडौँ। भारत र नेपाल दुवै देशमा चर्चित भारतीय गायक तथा अभिनेता प्रशान्त तामाङको  आज हृदयघातका कारण  निधन भएको छ। प्रशान्त तामाङ २००७ मा चर्चित टेलिभिजन कार्यक्रम  इन्डियन आइडल को तेस्रो सिजनको विजेता बनेका थिए र त्यसपछि उनी गायन तथा अभिनय क्षेत्रमा परिचित व्यक्ति बनेका थिए ।

दार्जिलिङमा नेपाली आमा र भारतीय गोर्खा बाबुको सन्तानका रूपमा जन्मिएका प्रशान्त तामाङले बाबुको निधनपछि उनकै स्थानमा कोलकाता प्रहरीमा काम गरेका थिए। संगीतमा रुचि र क्षमता भएकाले उनी प्रहरीको कोलकाता पुलिस अर्केस्ट्रामा गायकका रूपमा पनि सक्रिय थिए।

ADVERTISEMENT

सन् २००७ मा अत्यधिक लोकप्रियताका साथ सुरु भएको इन्डियन आइडल सिजन–३ मा सहभागी हुन उनलाई प्रहरी विभागका वरिष्ठ अधिकारीहरूले नै हौस्याएका थिए। प्रतियोगितामा प्रवेश गरेपछि तामाङले प्रारम्भिक चरणहरू सहजै पार गर्दै उत्कृष्ट प्रस्तुति दिए।

ADVERTISEMENT

प्रशान्तको निधनपछि संगीत र मनोरञ्जन क्षेत्रमा शोकको लहर छाएको छ।  उनका प्रशंसक, सहकर्मी तथा समर्थकहरूले सामाजिक सञ्जालमार्फत उनी प्रति श्रद्धाञ्जलीहरू व्यक्त गरिरहेका छन्।