काठमाडौं । राहदानी विभागले बिहीबारदेखि दुई सिफ्टमा सेवा सञ्चालन गरेको छ । जसअनुसार बिहान ७ देखि राति ९ बजेसम्म विभागले सेवा दिइरहेको छ ।

खासगरी दक्षिण कोरियाको रोजगारीका लागि इपिएस परीक्षाको आवेदन खुलेपछि राहदानी बनाउने र नवीकरण गर्नेको अत्यधिक भिड बढेको छ। सेवाग्राहीको चाप र राहदानी पाउन भइरहेको ढिलाइलाई मध्यनजर गर्दै विभागले यस्तो निर्णय गरेको हो ।

ADVERTISEMENT

इपिएस कोरिया शाखाले आवेदन दिने म्याद साउन २० गतेसम्म बढाएको छ। म्याद सकिएका राहदानीवाहकले पनि पुरानै राहदानीको विवरण भरेर अनलाइन आवेदन दिन सक्नेछन्। भाषा र सीप परीक्षा उत्तीर्ण भएपछि जब एप्लिकेसन फाराम भर्ने बेला मात्र नयाँ राहदानी बुझाए हुने व्यवस्था मिलाइएको छ।

ADVERTISEMENT

त्रिपुरेश्वरस्थित राहदानी विभागमा भिड अत्यधिक भएपछि सेवालाई दुई सिफ्टमा विभाजन गरिएको छ। पहिलो सिफ्ट बिहान ७ देखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ देखि राति ९ बजेसम्म सञ्चालन हुनेछ। यो व्यवस्था साउन २२ सम्म रहनेछ। सार्वजनिक बिदाका दिन (शनिबार र आइतबार) समेत बिहान १० देखि बेलुकी ४ बजेसम्म सेवा प्रवाह गरिने विभागले जनाएको छ।

नेपाल र कोरियाबीचको समझदारीअनुसार यसपटक ७२ सय कोटाका लागि आवेदन माग गरिएको छ। राहदानी विभागको प्रणालीमा आएको सुधार र आवेदन दिने इच्छुक कोही पनि नछुटून् भन्ने उद्देश्यले सहजीकरणका उपाय अपनाइएको बताइन्छ ।

ADVERTISEMENT