नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटस्थित एक टायल्स उद्योगमा काम गर्ने दुई जना मजदुर मृत फेला परेका छन्। मृत भेटिनेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन्।
प्रहरीका अनुसार बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेशको प्रतापगढ जिल्लाका ३० वर्षीय विनोद कुमार उद्योग परिसरमै मृत अवस्थामा भेटिएका हुन्। उनीहरू बुधबार राति ८ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म ग्यासी फायरमा ड्युटीमा खटिएका थिए।
उद्योगका म्यानेजर रमेश न्यौपानेले बिहीबार बिहान करिब सवा ९ बजे ग्यासी फायरको पोकिङ फ्लोरमा गद्दा ओछ्याएर सुतेको अवस्थामा दुवै जना मृत फेला परेको जानकारी प्रहरीलाई दिएका थिए। प्रारम्भिक अनुसन्धानमा मृतकको शरीरमा बाह्य चोटपटकको कुनै संकेत नदेखिएको प्रहरीले जनाएको छ।
यद्यपि, मृतकका आफन्तहरूले घटनालाई शंकास्पद बताउँदै उद्योग घेराउ गरी प्रदर्शन गरिरहेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।
घटनास्थलमा अहिले प्रहरी टोली परिचालन गरिएको छ भने मृत्युको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






