महेन्द्रनगर । पश्चिम नेपालका नेपाल-भारत सीमामा सुरक्षा संयन्त्रले भारततर्फबाट आयात हुने मालसमानमा कडाइ गरेपछि कञ्चनपुरको महेन्द्रनगर बजारमा मालवस्तु किनमेलका लागि चहल पहल बढेको छ ।

भारतबाट आायत हुने सामानमा गड्डाचौकी नाकामा भन्सार कडाइ गरेपछि दैनिक उपभोेग्यदेखि मालसमान खरिदका लागि सीमावर्ती भारतीय बजार वनबासा जाने क्रम घटेको छ । यसरी हेर्दा दैनिक मालवस्तु किनमेलका लागि लाग्ने गरेको वनबासा बजार सुनसान हुँदा यता नेपालतर्फका पसलहरुमा चहलपहल बढेको हो ।

गड्डाचौकी र आसपासका क्षेत्रमा केही समययता सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले भन्सार जाँचमा कडाइका साथै १०० भन्दा बढीको सामान आयात गर्दा भन्सार राजश्व बुझाउनुपर्ने विषयमा सतर्कता बढाएपछि महेन्द्रनगर बजारमा चहलपहल बढेको हो ।

ADVERTISEMENT

महेन्द्रनगरका व्यवसायी इन्द्रबहादुर बमले सीमामा भएको भन्सार कडाइका कारण यता नेपालतर्फको महेन्द्रनगर बजारमा किनमेल बढेको बताए । उनले मानिसहरु पहिले भारतीय बजारमा सामान सस्तो पाइनेभन्दा स्थानीयहरु बजारका लागि पारि जाने गरेकोमा अहिले त्यस्तो नहुने रहेछ भन्ने तथ्य पनि उनीहरुले बुझ्न थालेको बताए ।

ADVERTISEMENT

विगतका तुलनामा बजारमा गतिविधि बढे पनि भन्सार कडाइमा सुरक्षा निकायदेखि उद्योग वाणिज्य संघको समेत सशक्त भूमिका हुनुपर्ने उनको भनाइ छ । उनले पछिल्लो समय पुनः घरका लागि पुजाका लागि भनेर सामान ल्याउन खोज्नेहरु सलबलाउन थालेको पनि बताए ।

ADVERTISEMENT

सीमावर्ती भारतीय बजार वनबासा सदियौँदेखि नेपाली उपभोक्ताहरुमा आश्रित बजार हो । नेपाली भन्सारमा कडाइ हुँदा वनबासा बजारको व्यापार भने प्रभावित बनेको भारतीय व्यापारीहरुको भनाइ छ । उनले नेपाल–भारत सीमामा दशकौँदेखि किसनमेलका लागि आवतजावत हुँदै आएकाले सीमामा भन्सार तिरेर भए पनि वातावरण सहज हुनुपर्नेमा जोड दिए ।

कञ्चनपुरस्थित सशस्त्र प्रहरी बल ३५ नंं गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले कृषकका लागि मल ल्याउने विषयमा सहजीकरण गरिने भए पनि अन्यको हकमा भन्सार दाखिला नै गरेर मालसमान ल्याउनुपर्नेमा जोड दिए ।

भारतबाट उपभोक्ताले १०० भन्दा बढीको मालसामान ल्याउँदा भन्सार लाग्ने विगतको व्यवस्थालाई कार्यान्वयन कडाइका साथ गर्दा नेपाल बजारमा व्यापारिक हिसाबले पनि चहलपहल बढेको उनको भनाइ छ ।

वनबासाबाट साइकलमा क्यारिङ गरेर मालसमान महेन्द्रनगर र आसपासका बजारसम्म पु¥याउने गतिविधि पनि बन्द भएको छ । गड्डाचौकी भन्सारबाट दैनिक उपभोग्य सामानका साथै लत्ताकपडा, इलेक्ट्रिक सामानलगायतका हुने गरेको छ ।

नेपाल–भारत मैत्री संघका महासचिव माधव जोशीले सीमामा भएको कडाइले केही समय नागरिकलाई असहज भएकोजस्तो देखिए पनि समग्रमा राज्यलाई फाइदा पुगेको बताए । उनले व्यापारका साथै स्वदेशमा रोजगारीसमेत बढ्ने भएकाले भन्सार कडाइलाई नियमनकारी निकायलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले भारतमा मजदुरी गरेर फर्किरहेका नेपाली नागरिकहरुलाई सीमामा कडाइका नाममा सास्ती दिन नहुने बताए ।