काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजा खेतीलाई कानुनी रूपमा व्यवस्थित गर्ने व्यवस्था भए अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्न तयार रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभामा भएको प्रश्नोत्तर कार्यक्रममा सांसद विष्णुकुमारी सापकोटाले गाँजा खेतीलाई व्यवस्थित र वैधानिक बनाउने सरकारको योजनाबारे प्रश्न गरेपछि मन्त्री वाग्लेले यस्तो धारणा राखेका हुन् ।

मन्त्री वाग्लेले गाँजा उत्पादनलाई केवल आम्दानी, रोजगारी र सम्भावित राजस्वसँग मात्र जोडेर हेर्न नहुने बताए । उनका अनुसार गाँजा औषधिजन्य तथा नियन्त्रित लागुऔषधसँग सम्बन्धित विषय भएकाले यसमा विज्ञको अध्ययन र स्पष्ट कानुनी व्यवस्था आवश्यक छ ।

ADVERTISEMENT

उनले सम्बन्धित विज्ञबाट अध्ययन तथा आवश्यक निर्क्योल गरी कानुनअनुसार गाँजा खेती र उत्पादनलाई व्यवस्थित गर्न सकिने अवस्था बने अर्थ मन्त्रालय सहजीकरणका लागि तयार रहेको स्पष्ट पारे ।

ADVERTISEMENT

सांसद सापकोटाले गाँजाबाट औषधि उत्पादनसँगै रेसाबाट कपडा, कागज तथा डोरीलगायत सामग्री बनाउन सकिने बताउँदै यसको आर्थिक सम्भावनाबारे सरकारको धारणा मागेकी थिइन् । उनले औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीसम्बन्धी कानुनी व्यवस्था गर्नुपर्ने विषय पनि उठाइन् ।

ADVERTISEMENT

जवाफमा वाग्लेले औषधिजन्य प्रयोजनका लागि गाँजालाई कानुनी दायरामा ल्याउने विषयमा सकारात्मक हुनुपर्ने बताए । विकसित मुलुकहरू पनि औषधिजन्य प्रयोजनमा गाँजाको प्रयोगलाई क्रमशः कानुनी बनाउने दिशामा अघि बढिरहेको उनको भनाइ थियो ।

नेपालमा गाँजा खेतीमाथि लामो समयदेखि कानुनी प्रतिबन्ध रहे पनि पछिल्लो समय औषधि, कृषि, रोजगारी र निर्यातको सम्भावनासँग जोडेर यसलाई नियमनसहित खुला गर्नुपर्ने बहस बढ्दै गएको छ ।

मन्त्री वाग्लेले भने यो विषय हाल अर्थ मन्त्रालयको मात्र क्षेत्राधिकारमा नरहेको र गृह मन्त्रालयसँग समेत सम्बन्धित भएकाले थप छलफल तथा अध्ययन आवश्यक रहेको बताए । आवश्यक कानुनी व्यवस्था गर्न सकिने निष्कर्षमा पुगे अर्थ मन्त्रालयले सकारात्मक रूपमा सहजीकरण गर्ने उनको प्रतिबद्धता छ ।