पाटन (ललितपुर)। पूर्वगृहमन्त्री रमेश लेखकले भाद्र २३ र २४ गते भएका घटनासम्बन्धी गठित जाँचबुझ आयोगमा यही पुस १४ गते सोमबार उपस्थित भई बयान दिने बताएका हुन् ।

ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालयमा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी भई बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आयोगमा उपस्थित भई आफ्ना धारणा राख्ने जानकारी दिएका हुन्।

पूर्वगृहमन्त्री लेखकका अनुसार जाँचबुझ आयोगले बयानका लागि पुस ११ गते शुक्रबार उपस्थित हुन पत्र पठाएको थियो । तर व्यक्तिगत तथा समय व्यवस्थापनका कारण आफूले पुस १४ गते सोमबार आयोगमा उपस्थित हुने जानकारी आयोगलाई गराइसकेको उनले स्पष्ट पारे  ।

“आयोगले मलाई पुस ११ गते आउन पत्र पठाएको थियो, मैले पुस १४ गते सोमबार आउँछु भनेर जानकारी गराएको छु,” लेखकले बताएका हुन् ।

भाद्र २३ र २४ गते भएका घटनाबारे सत्यतथ्य पत्ता लगाउने उद्देश्यले सरकारले जाँचबुझ आयोग गठन गरेको हो । आयोगले घटनासँग सम्बन्धित पूर्व तथा वर्तमान पदाधिकारी, सुरक्षाकर्मी र सरोकारवालासँग बयान संकलन गर्ने प्रक्रिया तीव्र बनाएको जनाएको छ ।