काठमाडौं । नेपाली कांग्रेसले भोटेकोसीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारलाई पहिलो प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेको छ।
सर्वदलीय बैठकपछि कांग्रेसका प्रवक्ता देवराज चालिसेले विपद्मा परेकाहरूको खोजी तथा उद्धारपछि राहत र पुनःस्थापनामा सरकार केन्द्रित हुनुपर्ने बताए।
उनले विपद्को सामना गर्न आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग लिन लाज मान्न नहुने धारणा पनि राखे। उनका अनुसार बाढीका कारण सुरुङमा दक्ष जनशक्ति, इन्जिनियर तथा विज्ञहरू समेत फसेको अवस्था छ।
“सुरुङमा फसेका दक्ष जनशक्तिहरू, इन्जिनियरहरू, विज्ञ थुनिएको अवस्था छ,” चालिसेले भने।
कांग्रेसले विपद्को यस कठिन समयमा बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी र तीव्र बनाउनुपर्नेमा जोड दिएको छ।






