ललितपुर । ललितपुर राप्रपा नेता रमेश सिलवाल कांग्रेस प्रवेश गरेका छन् । कोञ्ज्योसोम गाउँपालिका-४ नल्लुका पूर्ववडा सदस्य उम्मेदवार सिलवाल कांग्रेस प्रवेश गरेका हुन्। यसअघि उनी राप्रपाबाट वडा सदस्य पदमा उम्मेदवार बनेका थिए।
उनलाई कांग्रेस सहमहामन्त्री एवं ललितपुर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार उदयशमशेर राणाले पार्टीमा स्वागत गरेका हुन्। कांग्रेस प्रवेश गरेसँगै सिलवालले राप्रपा परित्याग गरेको घोषणा गर्दै अबदेखि कांग्रेसको विधान र नीतिअनुसार राणालाई विजयी गराउन सक्रिय रूपमा लागिपर्ने बताए ।
सिलवालले राप्रपा जनसर्वसाधारणभन्दा पार्टीका सीमित कार्यकर्ता र नेतामा केन्द्रित भएको आरोप लगाउँदै यस्तो प्रवृत्तिले देश तथा क्षेत्रको समग्र विकास सम्भव नभएको बताए। आसन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा पार्टीभित्र देखिएको आन्तरिक अवस्थाबाट असन्तुष्ट भएर आफूले पार्टी त्यागेको उनको भनाइ छ।
उनले यसअघि प्रतिनिधिसभा निर्वाचनमा विजयी भई क्षेत्रको विकासमा योगदान दिएका लोकप्रिय तथा समाजसेवी राणालाई समर्थन गर्न पाउँदा खुशी लागेको बताए। साथै, क्षेत्रको विकास चाहने मतदातालाई यसपटक उदय शमशेर राणालाई समर्थन गर्न आग्रहसमेत गरेका छन्।







