काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ‘गरिमा रोड रेस’ २०८२ सम्पन्न गरेको छ । “स्वस्थ जीवनशैलीका लागि खेलकुुद” भन्ने नाराका साथ बैंकले १९औं वार्षिकोत्सवको अवसरमा शनिवार गरिमा रोड रेस सम्पन्न गरेको हो ।
बैंकले १८औं वार्षिकोत्सवबाट सुरु गरिएको सो प्रतियोगिताको दोस्रो संस्करणमा खुला, कर्पोरेट र भेट्रान गरी कुल ३ विधामा महिला र पुरुष गरी कुल ६ वटा प्रतियोगिता आयोजना गरिएको थियो ।
एक हजार भन्दा बढी धावकहरुको सहभागिता रहेको यस प्रतियोगिताको खुला विधामा महिला तर्फ १० कि.मि.को दुरी ३४ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै ओलम्पियन धावक सन्तोषी श्रेष्ठ र पुरुष तर्फ १० कि.मी.को दुरी २९ मिनेट १२ सेकेन्डमा पूरा गर्दै नेपाल आर्मीका राजन रोकायले प्रथम स्थान हासिल गरे ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरुलाई खुला तर्फ क्रमश : ५० हजार, ३५ हजार, १५ हजार र दश हजार पुुरस्कार मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
साथै, कर्पोरेट र भेट्रान तर्फ ५ कि.मि. विधामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः .३० हजार, २० हजार, १४ हजार, दश हजार र सात हजार रुपैयाँ नगद पुरस्कार, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
यस्तै आईतबार देशका विभिन्न ८ स्थानमा बृहत रक्तदान कार्यक्रम र १९ स्थानमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरिने बैंकले जनाएको छ ।






