काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड डिजिटल बैंकिङ कारोबारमा उत्कृष्ट प्रदर्शन गरेबापत सम्मानित भएको छ। नेपाल क्लियरिङ हाउस लिमिटेडको १७औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बैंकलाई ‘Excellence in Digital Transactions FY 2081/82’ तथा ‘Excellence in NepalPay QR Transaction FY 2081/82’ अवार्ड प्रदान गरिएको हो।
आर्थिक वर्ष २०८१/८२ मा विकास बैंकहरूमध्ये सबैभन्दा बढी डिजिटल तथा QR कारोबार गरेको आधारमा गरिमा विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको नेपाल क्लियरिङ हाउसले जनाएको छ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले उक्त अवार्ड ग्रहण गरेका थिए।समयानुकूल नवीनतम डिजिटल बैंकिङ सेवाहरूलाई थप ग्राहकमैत्री बनाउँदै अघि बढिरहेको बैंकका लागि प्राप्त यस सम्मानले डिजिटल कारोबार विस्तारमा थप ऊर्जा प्रदान गर्ने बैंकले जनाएको छ।यसअघि पनि गरिमा विकास बैंक २०८२ भदौमा भारतको नयाँ दिल्लीमा भारतीय चेम्बर अफ कमर्सद्वारा आयोजित Emerging Asia Banking Conclave & Awards कार्यक्रममा ‘Best Bank’ सहित तीन वटा अवार्डबाट सम्मानित भएको थियो।
हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम तथा आधुनिक डिजिटल बैंकिङ सेवामार्फत करिब नौ लाख ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।






