काठमााडौं । दीपावलीमा जताततै पटाका पड्काउँदा भारतको राजधानी नयाँ दिल्लीको वायुको गुणस्तर निकै खराब अवस्थामा पुगेको छ । तीन दिनदेखि दिल्लीमा बाहिरतिर हिँड्नसमेत मुस्किल पर्ने गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।
भारतको राष्ट्रिय वायु गुणस्तरसम्बन्धी तथ्यांकअनुसार, दीपावली पर्व सम्पन्न भएसँगै राजधानी नयाँ दिल्ली सहरको वायुको गुणस्तर ‘अत्यन्तै खराब’ रहेको छ ।
मंगलबार जारी वायु गुणस्तर सूचकांक बुलेटिनअनुसार औसत एक्यूआई ३५१ थियो, जुन सीमा (अधिकतम ५०) भन्दा करिब सात गुणा बढी हो । बुधबार यो ३५३ पुगेको थियो ।
प्रमुख प्रदूषक ए : २.५ नामक कणजन्य पदार्थ रहेको बताइएको छ । सोमबार राति चाडपर्वको समयमा दिल्लीको प्रदूषण तथ्यांकले मध्यरातमा ए : २.५ को स्तर बढेर ९९४ पुगेको देखाएको थियो, जुन गुणस्तर सीमा ०–६० भन्दा निकै माथि हो । मंगलबार स्थानीय समयअनुसार राति ९ बजे यो संख्या फेरि बढेर ८५३ पुगेको थियो ।
क्लाइमेट ट्रेन्ड्सका अनुसन्धान प्रमुख पालक बाल्यानले एबीसी न्यूजलाई भने, ‘यो तीन गुणाभन्दा बढीको वृद्धि हो, जसले २०२५ लाई पछिल्ला वर्षहरूका सबैभन्दा प्रदूषित दिपावलीमध्ये एक बनायो,’ उनले थपे, ‘हामीले स्थानीय ए : २.५ तथ्यांकहरू हेर्नु आवश्यक छ । औसतले स्थानीय स्रोतहरूको प्रभावलाई पूर्ण रूपमा देखाउँदैन ।”
अस्वस्थ हावामा आएको यो वृद्धि त्यस्तो समयमा भएको छ जब भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा परम्परागत पटाकाहरू पड्काउन प्रतिबन्ध लगाएको थियो । अदालतले अक्टोबरको मध्यमा हरियो पटाकाहरूको प्रयोगलाई मात्र अनुमति दिएको थियो ।
दिल्लीका वातावरण मन्त्री मञ्जिन्दर सिंह सिरसाले प्रदूषणको दोष छेउछाउका राज्यहरूलाई लगाएका छन् । उनले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी आम आदमी पार्टीले व्यवस्थित रूपमा पराल जलाउन लगाएको दाबी गर्दै त्यसका भिडियोहरू सार्वजनिक गरे ।







