काठमाडौं। काठमाडौं उपत्यकामा वायु प्रदूषण तीव्र रूपमा बढ्दै ‘धेरै अस्वस्थ’ स्तरमा पुगेको छ। एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार मंगलबार दिउँसो करिब ९२ रहेको वायु गुणस्तर सूचकांक आज बिहान ११ बजेसम्म बढेर २४७ पुगेको छ।

एक्युआई मापदण्डअनुसार २०१ देखि ३०० सम्मको सूचकांक ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्छ, जसले सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु रोगीका लागि जोखिम उच्च हुने जनाइएको छ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा नहुनु, बढ्दो सुक्खा, कृषि अवशेष जलाउने प्रवृत्ति तथा वन डढेलोका घटनाले वायु प्रदूषण बढाएको हो।

त्यस्तै जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनले आगामी तीन दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना नरहेको र तापक्रम अझै बढ्ने संकेत देखिएको जानकारी दिइन्। यसले प्रदूषण थप बढ्न सक्ने अनुमान गरिएको छ।

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार हालको प्रदूषण स्तरले दैनिक करिब १२ वटा चुरोट सेवन गरेजस्तै स्वास्थ्यमा असर पार्न सक्ने अवस्था सिर्जना गरेको छ।

स्वास्थ्य विज्ञहरूले अत्यावश्यकबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न तथा धुलो–धुवाँबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेका छन्। प्रदूषण नियन्त्रणका लागि दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ।