काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी सिमेन्ट इन्डष्ट्रिज पाल्पाले गत आर्थिक वर्षको पहिलो ९ महिनामा २ अर्ब ५९ करोड रुपैयाँको कारोबार गरेको छ।

कम्पनीले सन् २०२४ मा १ अर्ब ७५ करोड ९० लाख रुपैयाँ र त्यसपछि २ अर्ब ४६ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो। कम्पनीले दैनिक २ हजार ९ सय ५० टन क्लिङ्कर उत्पादन गर्ने क्षमता रहेको क्लिङ्कराइजेसन युनिट सञ्चालन गर्दै आएको छ।

गत आर्थिक वर्षको ९ महिनामा कम्पनीको क्लिङ्कर उत्पादन क्षमता उपयोग ४२ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा क्षमता उपयोग २५ प्रतिशत मात्रै थियो। क्षमता उपयोगमा सुधार आए पनि प्लान्ट निर्माण तथा पुँजीगत खर्चका लागि लिएको ऋणको तुलनामा उत्पादन क्षमता उपयोग अझै न्यून रहेको छ।

ADVERTISEMENT

कम्पनीको कुल ऋण र सञ्चालनबीचको अनुपात १३.३ गुणा रहेको छ। क्लिङ्कराइजेसन युनिट ७९:२१ को ऋण–इक्विटी संरचनामा निर्माण गरिएको हो। उक्त युनिट निर्माणमा कम्पनीले १३ अर्ब २३ करोड ७० लाख रुपैयाँ खर्च गरेको थियो।

ADVERTISEMENT

कारोबारमा भएको वृद्धिसँगै कम्पनीको नाफा तथा ऋण भुक्तानी क्षमतासम्बन्धी सूचकमा समेत सुधार आएको छ। गत आर्थिक वर्षको ९ महिनामा कम्पनीको ऋण सेवा कभरेज अनुपात १ गुणा पुगेको छ। सन् २०२४ मा यो अनुपात ०.३ गुणा मात्रै थियो।

कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि कुल १३ अर्ब ६५ करोड रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ। यसमध्ये १० अर्ब ९० करोड रुपैयाँ दीर्घकालीन र २ अर्ब ७५ करोड रुपैयाँ अल्पकालीन कर्जा रहेको छ।

कम्पनीले दैनिक १ हजार टन ग्रान्डिङ क्षमताको नयाँ सिमेन्ट उत्पादन इकाइ निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ। यसअघि कम्पनीले दैनिक २ हजार ८ सय टन क्षमतामा सिमेन्ट उत्पादन गर्ने अनुमति लिएको थियो।

चौधरी ग्रुपले सन् २०१३ देखि अर्को सीजी सिमेन्ट इन्डष्ट्रिजमार्फत दैनिक १ हजार ५ सय टन सिमेन्ट वितरण गर्दै आएको छ।