काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकांक (एक्युआई) मंगलबार मध्याह्नसम्म १९१ पुगेको छ । यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुरोगीलाई बढी असर पार्न सक्छ ।

यससँगै आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा पुगिसकेको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार आज काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । भारतको दिल्ली २२९ एक्युआईसहित पहिलो र पाकिस्तानको लाहोर २०३ एक्युआईसहित दोस्रो स्थानमा सूचीकृत भएको छ ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वर्षा नभए आगामी दिनमा प्रदूषण अझै बढ्न सक्ने बताए । वर्षाले हावामा रहेको धुलो तथा कणलाई जमिनमा झार्न मद्दत गर्ने भएकाले लामो समयसम्म सुक्खा मौसम रहँदा प्रदूषणको मात्रा उच्च हुने उनको भनाइ छ । दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिइएको महानिर्देशक सुवेदीले जानकारी दिए ।

वातावरण अभियन्ता वर्षा पराजुलीका अनुसार उपत्यकामा सवारीसाधनको तीव्र वृद्धि, डिजेल तथा पेट्रोलबाट निस्कने धुवाँ, निर्माणाधीन सडक तथा पूर्वाधार परियोजनाबाट उड्ने धुलो, साथै वन डढेलो र लामो समयसम्मको सुक्खा मौसमले वायु प्रदूषण बढाएको छ । सुक्खा रहेमा अझ झन् प्रदूषण बढ्न सक्ने भन्दै समयमा नै सचेत हुन समेत पराजुलीले आग्रह गरिन् ।

इन्डेक्सको तथ्यांकअनुसार देखि ५० एक्युआई राम्रो (हरियो संकेत) तथा ५१ देखि १०० सम्म सचेत रहनुपर्ने (पहेँलो संकेतं मानिन्छ । त्यसैगरी, १०१ देखि १५० एक्युआई अस्वस्थ मानिन्छ, जसले श्वासप्रश्वास र मुटुरोगी बिरामीलाई असर गर्छ । यस्तै १५१ देखि २०० एक्युआई सबैका लागि अस्वस्थ, २०१ देखि ३०० एक्युआई धेरै अस्वस्थ तथा ३०० भन्दा माथि पुगेको अवस्था अत्यन्तै खतरनाक मानिन्छ ।

काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार नेपाल सरकारले एक्युआई ३०० भन्दा बढी पुगेको अवस्थालाई विपद् मान्ने व्यवस्था गरेको छ । यस्तो विपद् न्यूनीकरणका लागि फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ब्रुमर तथा भ्याकुमको प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था कार्ययोजनामा उल्लेख छ ।