काठमाडौं । प्रभु बैंकले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक विवरणले बैंक घाटा पुगेको देखाएको छ ।
बैंकले सार्वजनिक गरेको विवरण अनुसार असार मसान्तसम्ममा बैंक २४ करोड १२ लाख ४३ हजार रुपैयाँ खुद घाटामा छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले ८७ करोड २३ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकको वित्तीय स्वास्थ्य बिग्रनुको मुख्य कारण निष्क्रिय कर्जामा भएको व्यापाक वृद्धि हो । अघिल्लो वर्ष ७.०१ प्रतिशत रहेको निष्क्रिय कर्जा दोब्बरभन्दा बढी अर्थात् १५.५५ % पुगेको छ ।
निष्क्रिय कर्जा उच्च रुपमा बढेपछि बैंकले सम्भावित जोखिम व्यवस्थापन (नोक्सानी व्यवस्था) का लागि ४ अर्ब ९४ करोड रुपैयाँ छुट्याउनु परेको छ, जसले नाफालाई ऋणात्मक बनाउन मुख्य भूमिका खेलेको हो । घाटामा गएको प्रभु बैंकको सञ्चित नोक्सानी ६ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ छ । अघिल्लो वर्षसम्म यस्तो नोक्सानी २ अर्ब ५६ करोड रुपैयाँ थियो ।
बैंकले प्रवाह गरेको कुल कर्जा तथा ब्याजदर स्प्रेड घटे तापनि बैंकको खुद ब्याज आम्दानी बढेको छ । अघिल्लो वर्ष ७ अर्ब १९ करोड ७८ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत वर्ष बढेर ९ अर्ब २६ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।
खुद फि तथा कमिसन आम्दानी पनि २ अर्ब २१ करोड रूपैयाँ छ ।
तर अघिल्लो आवमा २ अर्ब ४० करोड रूपैयाँ प्रोभिजन थपेको बैंकले गत आवमा करिब ५ अर्ब रूपैयाँ प्रोभिजन थप्नु परेको छ जसले बैंकलाई घाटामा पुर्याएको छ । बैंक घाटामा गएसँगै प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ । गत वर्ष ३.७१ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यो वर्ष १.०२ रुपैयाँ ऋणात्मक छ।
बैंकको प्रतिसेयर नेटवर्थ १४०.९२ रुपैयाँ कायम हुँदा बैंकको आधार दरमा उल्लेख्य गिरावट आएको छ । गत वर्ष ६.६७ प्रतिशत रहेको आधार दर यो वर्ष ४.९९ प्रतिशतमा झरेको छ । त्यस्तै, स्प्रेड दर ३.७३ प्रतिशतबाट घटेर ३.२८ प्रतिशतमा खुम्चिएको छ ।
पुँजी कोष १२.५० प्रतिशतबाट घटेर ११.८३ प्रतिशतमा झर्दा प्राथमिक पुँजी अनुपात ८.८३ प्रतिशत मात्र छ । सीडी रेसियो ७०.७८ प्रतिशतबाट घटेर ६७.८६ प्रतिशतमा आएको छ, जसले बैंकसँग लगानीका लागि पर्याप्त रकम रहेको तर लगानी हुन नसकेको देखाउँछ । यता कस्ट अफ फन्ड ४.३६ प्रतिशतबाट घटेर ३.२५ प्रतिशतमा झरेको छ ।
बैंकले चौथो त्रैमासमै मात्र २ अर्ब १७ करोड रूपैयाँ प्रोभिजन थपेको छ । बैंकको बक्यौता ब्याज र गैरबैंकिङ सम्पत्ति पनि भारी मात्राले बढ्दा वितरणयोग्य नाफा ३ अर्ब ७४ करोड छ जसमा अघिल्लो आवसम्मको सञ्चित घाटा जोड्दा कुल रिटेन्ड अर्निङ ६ अर्ब ३१ करोड पुगेको हो ।
गत आवमा बैंकले निक्षेप संकलनमा सामान्य वृद्धि गर्दै ३ खर्ब ४८ अर्ब रुपैयाँ पुर्याएको छ । कर्जा प्रवाह भने घटेर २ खर्ब १४ अर्ब रुपैयाँमा सीमित भएको छ ।





