काठमाडौं। दक्षिण कोरियाली टेलिभिजन सिरियल (के–ड्रामा) मा बोलेको एउटा संवादले चीनको इन्टरनेट प्रयोगकर्तामाझ आक्रोश फैलाएको छ । स्पाइ रोम्यान्स सिरिज टेम्पेस्ट मा दक्षिण कोरियाकी चर्चित अभिनेत्री जुन जी–ह्युनले एक जना कूटनीतिज्ञको भूमिका निभाएकी छिन् जसमा उनले एउटा रहस्यमय हत्या प्रकरणको सत्य पत्ता लगाउन प्रयासरत पात्रका रूपमा अभिनय गरेकी छिन् ।
सिरियलमा प्रयोग गरिएको “Why does China prefer war?” (किन चीन युद्ध रोज्छ?) भन्ने संवादलाई लिएर चीनका दर्शकले कडा विरोध गरेका छन् ।
चीनको सामाजिक सञ्जाल ‘वेइबो’मा यो विषय अहिले प्रमुख चर्चाको बिषय बन्न पुगेको छ । धेरै प्रयोगकर्ताले यसलाई चीनविरुद्धको पूर्वाग्रह र नकारात्मक चित्रणको रुपमा आरोप लगाएका छन् । केहीले यसलाई ‘जानाजानी गरिएको अपमान’ भनेका छन् भने अरूले यसलाई दक्षिण कोरियाली मनोरञ्जन उद्योगको ‘पश्चिमप्रतिको झुकाव’ का रूपमा व्याख्या गरेका छन् ।
यद्यपि, दक्षिण कोरियाली दर्शक र अन्तर्राष्ट्रिय जगतले भने यो संवादलाई सामान्य कथावस्तुको हिस्सा मात्रै भनेर लिइएको देखिन्छ । तर चीनबाट आएको कडा प्रतिक्रियाले भने फेरि एकपटक कोरियन सिरियल र चीनबीचको संवेदनशील सम्बन्धलाई सतहमा ल्याएको छ ।
स्मरणीय छ, यसअघि पनि केही के–ड्रामामा देखाइएका विषय, पोशाक र सांस्कृतिक प्रस्तुतीले चीनमा विवाद उत्पन्न गरेका थिए । यसपटकको विवादले चीन र दक्षिण कोरियाबीचको सांस्कृतिक सम्बन्धमा फेरि तिक्तता बढाएको देखिन्छ ।






