काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र कांग्रेस नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका छन्।
दुवै नेताले वारेसमार्फत सर्वोच्च अदालतमा रिट पेस गरेका हुन्। सर्वोच्च अदालतका सहरजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार कांग्रेस महाधिवेशनसँग सम्बन्धित दुईवटा फरक प्रकृतिका रिट निवेदन अदालतमा आएका छन्।
प्रवक्ता कोइरालाका अनुसार देउवाले कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका छन्। खड्काले भने यसअघि दायर भएको पुनरावलोकन मुद्दासँग आफ्नो निवेदनलाई समेत सँगै राखेर सुनुवाइ गर्न माग गर्दै पूरक निवेदन दिएका छन्।
‘कांग्रेस महाधिवेशनसँग सम्बन्धित दुईवटा फरक–फरक प्रकृतिका रिट आएको छ,’ प्रवक्ता कोइरालाले भने, ‘शेरबहादुर देउवाले महाधिवेशन रोक्न माग गर्दै रिट आएको छ भने पूर्णबहादुर खड्काको पूरक निवेदनका रूपमा यसअघिको पुनरावलोकन मुद्दासँगै राखी पाऊँ भनी रिट आएको छ।’
उनका अनुसार दुवै रिट अहिले अध्ययनकै क्रममा छन्। नेपाली कांग्रेसको केन्द्रीय समितिले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका तय गरेको थियो। सोही कार्यतालिकालाई यथावत् राख्दै कांग्रेस केन्द्रीय निर्वाचन समितिले हालै तल्लो तहका अधिवेशनको तालिकासमेत सार्वजनिक गरेको थियो।
महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला सर्वोच्चमा परेको रिटले कांग्रेसको आगामी महाधिवेशनसम्बन्धी प्रक्रिया थप कानुनी विवादमा तानिएको छ।






