काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो अवस्थामा आफूहरुले स्वयं आफैँलाई सच्चाउने उद्देश्यले राजनीतिक एजेण्डा बोकेर अगाडि आएको बताएका छन् । मुलुकप्रतिको प्रेम र जनताप्रतिको संकल्पलाई व्यवहारमा उतार्ने दृढताका साथ अघि बढेको उनको भनाइ छ ।
नेकपाको बागमती प्रदेश कमिटीले भृकुटीमण्डपमा आयोजना गरेको सन्देश सभालाई शनिबार सम्बोधन गर्दै प्रचण्डले आफूहरु पनि जेनजी उमेर समूहकै युवाहरुको बलमा राजनीति गर्दै आएको बताए । ‘बा आमाहरुलाई अपमान नगर्नुहोस् । बा आमाको अनुभव, शिक्षा र सुझाव लत्याउने कुनै पनि पुस्तालाई योग्य ठहराउन सकिँदैन,’ उनले भने ।
कम्तीमा एक लाख मानिस अट्ने खुला चौर नहुनु नेपालकै लागि लज्जास्पद र अपमानजनक विषय भएको उनले बताए । ‘नेपाल सरकार र महानगरपालिकालाई खुलामञ्च खुला गर्न आग्रह गर्छु । यो राष्ट्रकै लागि अपमानको विषय हो । ५०–६० हजारदेखि एक लाख मानिस जम्मा हुने मञ्च नहुनु लज्जाको कुरा हो,’ उनले भने ।
प्रचण्डले राजनीतिक दल, सामाजिक संस्था र सबैका लागि खुला सभा–समारोह गर्ने स्थल अनिवार्य रहेको भन्दै यो स्थितिको अन्त्य गर्न जोडदार अपिल गरे । उनले आजको सभा टुँडिखेलमा आयोजना गर्ने प्रयास गरिएको तर सफल नभएको पनि उल्लेख गरे ।
नेकपाका सहसंयोजक माधवकुमार नेपालले आफू र आफ्नो पार्टीले मानदारिताका साथ मुलुक र जनताप्रति प्रतिबद्ध रहेर काम गर्दै आएको बताए । त्यसैले आफ्नो पार्टीलाई एकपटक मौका दिन आग्रह गर्दै नेपालले जनतालाई पार्टीले देशभक्ति र सेवाभावलाई केन्द्रमा राखेर भूमिका खेल्ने उल्लेख गरेका छन् ।








