काठमाडौं । जेनजी पुस्ताले सोमबार गरेको आन्दोलनमा प्रहरीको गोली लागेर अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन् । यो विभिन्न अस्पतालले दिएको जानकारीअनुसारको तथ्यांक हो ।

सबैभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा ६, नयाँबानेश्वरस्थित सिभिल र एभरेस्ट अस्पतालमा तीन–तीन, सिनामंगलस्थित केएमसी अस्पतालमा एक र महाराजगन्जस्थित टिचिङ अस्पतालमा एक गरी हालसम्म १४ जनाको मृत्यु भएको हो । गम्भीर घाइतेको संख्या धेरै भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइन्छ । घाइतेको संख्या डेढ सयभन्दा बढी भएको विभिन्न अस्पतालले जनाएका छन् ।

ADVERTISEMENT

नयाँ बानेश्वरमा भएको झडपका क्रममा घाइते भएका ६ जनाको ट्रमा सेन्टरमा उपचारका लागि लगिएकामा मृत्यु भएको हो । मृतकहरुको छातीमा, तिघ्रामा र टाउकोमा गोली लागेको चिकित्सकहरूले बताएका छन् । ४० जनाको उपचार भइरहेको ट्रमामा १५ जना गम्भीर घाइते छन् ।

सिभिल अस्पतालमा दुईजना प्रदर्शनकारीको मृत्यु भएको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए । अस्पतालमा १०० जनाको उपचार भइरहेको छ भने गम्भीर अवस्थामा १४ जनाको बिरामीलाई रेफर गरिएको उनले बताए ।

ADVERTISEMENT

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) मा एकजनाको मृत्यु भएको छ । त्यहाँ अन्य २० जना उपचार भइरहेको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा एकजनाको मृत्यु भएको छ भने अन्य नौजना घाइतेको उपचार भइरहेको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसियारले बताए ।