काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज ३७ जिल्लामा जिल्ला अधिवेशन हुँदैछ। पार्टीको केन्द्रीय समितिले जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार आज कोशीका ९, मधेसका २, बागमतीका ९, गण्डकीका ५, लुम्बिनीका ८, कर्णालीका २ र सुदूरपश्चिमका ३ जिल्लामा अधिवेशन हुन लागेको हो।
आज कोशीका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा र सुनसरी, मधेसका महोत्तरी र रौतहट तथा बागमतीका दोलखा, काठमाडौं, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवेशन हुँदैछ।
यस्तै गण्डकीका स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दी, लुम्बिनीका गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, कर्णालीका कालिकोट र सल्यान तथा सुदूरपश्चिमका बैतडी, बझाङ र दार्चुलामा पनि अधिवेशन हुने कार्यतालिका छ।
आइतबार थप २९ जिल्लामा अधिवेशन हुनेछ। कोशीका उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाम, मधेसका सिराहा, धनुषा, पर्सा र सर्लाही तथा बागमतीका चितवन र ललितपुरमा अधिवेशन हुनेछ।
त्यसैगरी गण्डकीका तनहुँ, नवलपुर, गोरखा र लमजुङ, लुम्बिनीका अर्घाखाँची, रुपन्देही र प्यूठान, कर्णालीका सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्ला तथा सुदूरपश्चिमका अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा पनि अधिवेशन हुने तय भएको छ।
बारा जिल्लाको अधिवेशन भने जेठ २६ गतेका लागि तय गरिएको छ। संगठनात्मक विशेष परिस्थितिका कारण बाराको अधिवेशन पछि सारिएको पार्टीले जनाएको छ।
रास्वपाले पहिलो राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ। बाँकी १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि गरिनेछ।
पार्टीले जेठ २६ गतेदेखि सातै प्रदेशको अधिवेशन सुरु गर्ने तयारी पनि गरेको छ। पहिलो प्रदेश अधिवेशन बागमती प्रदेशबाट सुरु हुनेछ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुने तय भएको छ।








