काठमाडौं । कर्णाली प्रदेशमा आगामी मंसिर १६ गतेदेखि सुरु हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा व्यक्तिगत प्रतिस्पर्धातर्फ स्वर्ण पदक जित्ने खेलाडीले २० हजार रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताका पदक विजेतालाई प्रदान गरिने नगद पुरस्कारबारे जानकारी दिइएको हो ।
व्यक्तिगत प्रतिस्पर्धातर्फ स्वर्ण पदक विजेताले २० हजार, रजत पदक विजेताले १५ हजार र कास्य पदक विजेताले आठ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, टिम प्रतिस्पर्धातर्फ स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमशः १५ हजार, १० हजार र आठ हजार रुपैयाँ प्रदान गरिनेछ ।
राखेपका अनुसार यसअघि रजत र कास्य पदक विजेतालाई नगद पुरस्कार दिने व्यवस्था थिएन । यसपटक भने यी दुवै पदकका विजेतालाई पनि पहिलोपटक नगद पुरस्कार दिन लागिएको हो ।
प्रतियोगितामा ३२ खेल समावेश गरिएका छन् । ती खेलमा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल १ हजार ३३७ पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।












