काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी निकायमा करार सेवामा काम गरेको आरोपमा एक कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले प्यूठानको सरुमारानी गाउँपालिका–४ का भोजबाबु सोमै मगरविरुद्ध मंगलबार आरोपपत्र दायर गरेको हो।

ADVERTISEMENT

आयोगका अनुसार मगरले डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सुरुमा रुम्जाटार माध्यमिक विद्यालय र त्यसपछि खानेपानी मन्त्रालयअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा सब–इन्जिनियर पदमा करार सेवामा काम गरेका थिए।

ADVERTISEMENT

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), सानोठिमी भक्तपुरबाट जारी भएको देखिने झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरी सार्वजनिक पद, ओहदा, लाभ र सुविधा लिएको पाइएको छ।

उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको आयोगको ठहर छ।

सोही कसुरमा ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद तथा जरिवाना सजायको मागदाबीसहित आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।